अबोध पशुपंक्षीका खातिर आफ्नो एक गाँस कटाउन सक्नुहुन्न ?

0
140


पहिले त पति-पत्नीबीचको सम्बन्धलाई सोच्न पुग्छौं । त्यसपछि प्रेमी-प्रेमिकाको सम्बन्ध । त्यसपछि आमाबुबा, छोराछोरीबीचको सम्बन्ध । त्यसपछि आफन्तसँगको सम्बन्ध । त्यसपछि साथीभाई, इष्टमित्र, सहकर्मी, छिमेकी आदिसँगको सम्बन्ध ।

तपाईंले हेक्का राख्नुभयो ? मानविय सम्बन्धको कुरा गर्दा हामी मान्छेकै झुन्डभित्र हराउँछौं । तर, हामीले आफ्ना वरीपरीका गाईबस्तु, कुकुर, विरालो, कुखुरा, हाँस, काग, चराचुरुङ्गी आदिसँग पनि त मानविय सम्बन्ध बनाउन सक्छौं ।

हुन त गाईबस्तु, कुखुरा, हाँस आदि पाल्छौं । तिनीहरुको स्यहार-सुसार पनि गर्छौं । तर, त्यसमा हाम्रो प्रत्यक्ष स्वार्थ जोडिएको छ । गाईबस्तु पाल्छौं, दुधका लागि । कुखुरा-हाँस पाल्छौं, मासुको लागि । आफ्नो स्वार्थ सिद्ध गर्नका लागि हामी यस्ता पशुपंक्षीलाई आफ्नो अधिनमा राख्छौं ।

अब भन्नुहोस् त, के यिनीहरुसँग हामी निस्वार्थ सम्बन्ध कायम राख्न सक्दैनौं ?

हाम्रो आदर्श त के छ भने, सम्बन्ध भनेको निस्वार्थ हुनुपर्छ । त्यसो हो भने, बाटोमा बेवारिसे अवस्थामा भेटिएको गाईबस्तुलाई तपाईं किन लखेटनुहुन्छ ? लट्ठीले हिर्काउनुहुन्छ ? सडक किनारमा सुतिरहेको कुकुरमाथि किन लात बजार्नुहुन्छ ? घरको कौसीमा बस्ने कागलाई किन गुलेली हान्नुहुन्छ ?

किनभने, हामी प्रकृतिमा सबैमाथि हावी हुने मनोकांक्षा राख्छौं । यी अवोध पशुपंक्षीमाथ अधिन जमाउन खोज्छौं । धेरैजसो त के देखिन्छ भने, सडक कुकुर, जसलाई तपाईं ‘खिच्चा कुकुर वा भुस्यहा’ भनेर सम्बोधन गर्नुहुन्छ, त्यसलाई आफ्नो काबुमा राख्ने चेष्टा गर्नुहुन्छ ।

तपाईंको घरको पेटीमा सुतिरहेको कुकुरलाई धपाउनुहुन्छ, लखेट्नुहुन्छ । मौका परे तातो पानी खन्याउनुहुन्छ । रिस उठे, ढुंगाले बजार्नुहुन्छ । आखिर किन त्यसो गर्नुहुन्छ ?

किनभने, तपाईंलाई त्यो फोहोरी लाग्छ, दुर्गन्धित लाग्छ, डरलाग्दो लाग्छ, हिंस्रक लाग्छ । कतै टोकिहाल्ने पो हो कि ? झम्टने पो हो कि ? तपाईं यस्तै भयाभित मानसिकता पालेर ति अबोध र निरिह प्राणीलाई दूव्र्यवहार गर्नुहुन्छ ।

अबोध पशुपंक्षीको पक्षमा

अबोध पशुपंक्षीका खातिर आफ्नो एक गाँस कटाउन सक्नुहुन्न ? अबोध पशुपंक्षीका खातिर आफ्नो एक गाँस कटाउन सक्नुहुन्न ? Sharing 2

हालैको एक घटना सुन्नुभएकै होला । क्यानडामा एक नेपालीले कुकुरलाई कुटेको आरोपमा ९ महिनाको जेल सजाय भुक्तान गर्नुपर्ने भयो । त्यतीमात्र होइन, जीवनभर घरपालुवा जनावर पाल्न समेत उनीमाथि प्रतिवन्ध लगाइयो । यसरी कुकुर कुट्ने कामलाई स्थानिय अदालतले ‘कायर र घृणित कार्य’ भनी निन्दा गरेको छ ।

भनौं, चेतनाको माथिल्लो तहमा पुगेका समाजले आफ्नो वरीपरीको जीवजन्तु, पशुपंक्षीको नैसर्गिक अधिकार खोस्ने चेष्टा गर्दैनन् । उनीहरु पशुपंक्षीलाई पनि माया गर्छन्, सम्मान गर्छन् ।

हामीकहाँ पनि यस्ता मानविय प्रवृत्तिका मानिसहरु छन्, जसले सडकमा बेवारिसे अवस्थामा रहेका कुकुरलाई संरक्षण दिन्छन् । उपचार गर्छन् । कतिले त आफ्नो घरभरी यस्ता कुकुर जम्मा गरेर त्यसको स्यहार-सुसार गरिरहेका छन् । तर, धेरैजस्तो मान्छेको व्यवहार भने एकदमै अमानविय हुनेगर्छ । उनीहरु आफ्नो आसपासको पशुपंक्षीलाई लखेट्ने, हिर्काउने, यातना दिने गर्छन् । कतिपयले के सम्म गर्छन् भने, कुकुरलाई विषाक्त खानेकुरा ख्वाउने । बिरालोलाई जिउँदै खाल्डोमा पुर्ने । यतिसम्मका घृणित कार्य गर्नेहरु हाम्रै समाजमा हुन्छन् ।

पशुपंक्षीसँग सुमधुर सम्बन्ध

जसरी हामी पति-पत्नी, आमाबुबा, आफन्त, साथीभाई, छिमेकीसँग मानविय सम्बन्ध कायम राख्न खोज्छौं, के पशुपंक्षीसँग त्यस्तै सम्बन्ध स्थापित गर्न सकिदैन ?

तपाईंलाई उड्दै गरेको कागले आएर ठुग्ने होइन । कुकुर झम्टदै आएर टोक्ने होइन । गाईबस्तुले लखेट्ने होइन । त्यसो भए, ति अबोध पशुपंक्षीलाई तपाईं किन देख्न सक्नुहुन्न ? किन लाठी बजार्नुहुन्छ ? किन ढुंगा प्रहार गर्नुहुन्छ ? के त्यसको बदलामा ति पशुपंक्षीलाई प्रेमपूर्वक व्यवहार गर्न सक्नुहुन्न ?

यसो गरे कसो होला ?

ध्यानपूर्वक सोच्नुहोस् त, तपाईंको घर आसपासमा पशुपंक्षी पक्कै होलान् । तपाईं हिँड्ने बाटोमा सडक कुकुर होलान् । तपाईंको करेसाबारीमा काग, परेवा, भँगेरा आउँछ होला ।

यी पशुपंक्षीका लागि आफ्नो एक गाँस कटाउँदा तपाईं कुपोषणग्रस्त पक्कै हुनुहुनेछैन । बरु, अहिलेको अवस्थामा ‘ओभरडाइटिङ’को जोखिमबाट बच्नुहुनेछ । तपाईं जब खाना खानुहुन्छ, मात्र एक गाँस यी पशुपंक्षीका लागि छुट्याउन सक्नुहुन्छ ।

घरमा कतिपय खानेकुरा जुठो हुन्छ, बासी हुन्छ । दाल, भात, उबि्रन्छ । त्यसरी उबि्रएको खानेकुरा तपाईं डस्बिनमा मिल्काउनुहुन्छ । त्यो बिस्तारै सड्न, गल्न थाल्छ । ब्याक्टेरिया फैलन्छ । डस्बिनको फोहोरले तपाईंको घर दुर्घन्धित हुन्छ ।

त्यसो हो भने, तपाईं यसरी उबि्रएको खानेकुरा किन पशुपंक्षीलाई दिनुहुन्न ?

रेष्टुरेन्टमा खानेकुरा अर्डर गर्नुभयो । खाएर, केही बाँकी रह्यो । अब त्यसलाई प्याक गर्न लगाउनुहोस् । बाटोमा भेटिने कुकुरलाई दिनुहोस् । वा खुला स्थानमा लगेर छाडिदिनुहोस् । त्यो चराचुरुङ्गीले खान्छ ।

अबोध पशुपंक्षीका खातिर आफ्नो एक गाँस कटाउन सक्नुहुन्न ? अबोध पशुपंक्षीका खातिर आफ्नो एक गाँस कटाउन सक्नुहुन्न ? Estoy Aqui 3 1

यी अबोध, निरिह पशुपंक्षीको आफ्नो अन्नबाली हुँदैन । खेती हुँदैन । खानेकुराको भण्डारण हुँदैन । एक-एक छाक जुटाएर उनीहरुले जीवन निर्वाह गर्नुपर्ने हुन्छ । ति पशुपंक्षीका खातिर तपाईं त्यती सानो त्याग पनि गर्न सक्नुहुन्न ?

प्राकृतिक खुसी

भनिन्छ नि, दिनुमा छुटै आनन्द छ । हो, त्यही आनन्द अनुभूत गर्न सक्नुहुनेछ । पशुपंक्षीका खातिर आफ्नो एक गाँस कटाएर दिनुहोस्, तपाईंमा उनीहरुप्रति प्रेमभाव पैदा हुन्छ । ति पशुपंक्षी देख्दा तपाईंलाई घृणा वा रिस होइन, प्रेम जाग्छ । करुणा जाग्छ । जब तपाईंले बाँकी रहेको खानेकुरा कुनै सडक कुकुरलाई दिनुहुन्छ र त्यो कुकुर खुसीसाथ खानेकुरा खान थाल्छ । तपाईंमा परम सन्तुष्ट अनुभव हुन्छ । मनभित्र पैदा हुने यी भावहरुले तपाईंलाई मानविय बनाउँछ ।

तपाईं सामाजिक प्राणीको रुपमा आफुलाई विकास गर्न सक्नुहुनेछ । कतै भाषण गरेर, उपदेश दिएर तपाईं देखावटी रुपमा ‘असल/भद्रभलाद्मी/समाजसेवी’ देखिनुहोला । तर, तपाईं स्वयम् बद्लिनुभयो भने त्यसले असली रुपमै तपाईंलाई सन्तुष्ट तुल्याउनेछ । यसले तपाईंको क्रोध, रिस, आवेग, घृणा पनि शान्त गर्छ, जो मानसिक विकार हुन् । जब तपाईको मानसिक बिकार हट्छ, शरीरमा धेरै किसिमको रोग लाग्ने संभावना टरेर जान्छ ।

त्यसैले आफ्नो आसपासमा रहेका पशुपंक्षीसँग मानविय सम्बन्ध कायम गरौं र त्यही अनुसारको व्यवहार गरौं ।