हेल्थ एन्ड स्पोर्टस् सिटी र एकीकृत कृषि प्रशोधन केन्द्र अघि बढाउँदै लगानी बोर्ड

0
216


१० जेठ, काठमाडौं । लगानी बोर्डले अत्याधुनिक सेवासहितको ‘हेल्थ एन्ड स्पोर्टस् सिटी’को सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ ।

देशका विभिन्न भागको अध्ययन गरी उपयुक्त स्थान छनौट गर्ने लगानी बोर्डको योजना छ । सार्वजनिक निजी साझेदारी मोडल (पीपीपी) मा यसको निर्माण गर्ने गरी अध्ययन अघि बढाउन लागेको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए ।

प्रदेश सरकारसँग समन्वय गर्दै हेल्थ एण्ड स्पोर्टस् सिटि को निर्माण गरिनेछ । एउँटै शहरमा अत्याधुनिक सेवा सहितको अस्पताल, खेलमैदान, कलेज, सडकसहितको सहर निर्माण गरिनेछ ।

‘अब हामीले अत्याधुनिक सेवा सहितको हेल्थ एण्ड स्पोर्ट्स सिटिको निर्माणका लागि आवश्यक अध्ययन अघि बढाउन लागेका छौं,’ वाग्लेले भने ।

यसको अध्ययनका लागि कम्पनी छनोट गर्न बोर्डले केहि दिनमै सूचना निकाल्ने वाग्लेले जानकारी दिए ।

सम्भाव्यता अध्ययन गर्न चाहने परामर्शदाता कम्पनीहरुले आशयपत्र पेश गर्नुपर्नेछ । आशयपत्र पेश गरेका कम्पनीको मूल्यांकन गरी उत्कृष्ट कम्पनीलाई सम्भाव्यता अध्ययनको जिम्मा दिइनेछ ।

त्यसैगरी एकिकृत कृषि प्रशोधन केन्द्रको पनि सम्भाव्यता अध्ययन अघि बढाउन लागिएको छ । एकै स्थानमा उत्पादन, प्रशोधन र प्याकेजिङको समेत काम गर्ने गरी एकिकृत कृषि बिकास केन्द्रको स्थापना गर्न खोजेको वाग्ले बताउँछन् ।

देशका विभिन्न भागमा अध्ययन गरी उपयुक्त स्थानको छनौट गरिनेछ । माछापालनदेखि आधुनिक तरिकाबाट उक्त क्षेत्रमा तरकारीको समेत उत्पादन गरिनेछ ।

‘प्रशोधन केन्द्रमा पशुपन्धी बधशाला समेत बनाइनेछ , र त्यहाँबाट गुणस्तरीय मासुको उत्पादन गरिनेछ,’ वाग्लेले भने ।

तर, कुन स्थानमा यस्तो प्रशोधन केन्द्र स्थापना गर्ने भनेर अहिलेसम्म टुंगो लागेको छैन । सम्भाव्यता अध्ययन गर्ने परामर्शदाताले देशैभर अध्ययन गरेर प्रशोधन केन्द्र स्थापनाका लागि उचित स्थानको समेत सुझाव दिनेछ । प्रशोधन केन्द्र पनि पिपिपि मोडलमा निर्माण अघि बढाइनेछ ।