विदेशबाट फर्किने यात्रुलाई रक्सी ल्याउन प्रतिवन्ध

0
113


|१९ जेठ, काठमाडौं । सरकारले विदेशबाट फर्किनेहरुलाई रक्सी ल्याउन प्रतिवन्ध लगाएको छ । नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा हटाइएको छ ।

यसअघि एक लिटरसम्म रक्सी विदेशबाट फर्किनेले लिएर आउन पाउँथे । अब भने त्यस्तो सुविधा हटाइएको भन्सार विभागका एक उच्च अधिकारीले बताए ।

सरकारले यो सुविधाका कारण वाषिर्क एक अर्ब रुपैयाँ राजश्व गुमेको ठहर गर्दै हटाएको हो ।

‘विदेशबाट रक्सी ल्याउने क्रम निकै बढ्यो, झण्डै एक अर्ब राजस्व गुमेको पाइएपछि यसलाई हटाइएको हो,’ ती अधिकारीले भने,’ रक्सी स्वास्थ्यका हिसावले पनि राम्रो होइन । त्यसैले यसमा भन्सार छुट दिइरराख्नु पर्ने महसुश हामीले गरेनौं ।’

विदेशबाट फर्किने यात्रुले भन्सार तिरेर रक्सी ल्याउन पाउने/नपाउने भन्ने विषय तय भएको छैन ।

सरकारले नयाँ आर्थिक ऐनअनुसार झिटीगुन्टा आदेश जारी गरिसकेको छैन । केही दिनमा जारी हुने यो आदेशमा यस विषयमा स्पष्ट गर्ने योजना छ ।

‘त्यसमा केही आएन भने पनि विभागका महानिर्देशकले सूचना जारी गरेर स्पष्ट गर्नुहुन्छ,’ ती भन्सार अधिकारीले भने,’अब विदेशबाट भन्सार नतिरी रक्सी ल्याउन नपाउने कुरा चाँही स्पष्ट नै छ । यात्रुले रक्सी ल्याए जफत गर्ने कि भन्सार तिर्न दिने भन्ने विषय केही दिनमै स्पष्ट हुन्छ ।’