तपाईंलाई अघि बढ्न नदिने ठूलो रोग के हो ?

0
109


तपाईं अघि बढ्न चाहनुहुन्छ । सफल हुन चाहनुहुन्छ । जीत हासिल गर्न चाहनुहुन्छ । प्रगति गर्न चाहनुहुन्छ । धन-सम्पति आर्जन गर्न चाहनुहुन्छ । सुख-सयल भोग गर्न चाहनुहुन्छ ।

अब आँखा चिम्लेर सोच्नुहोस् त, यसमा तपाईंलाई कसले रोकेको छ ?

पल्लो घरका छिमेकीले ? आफ्ना इष्टमित्रले ? कार्यलयका सहकर्मीले ? श्रीमतिले ? श्रीमान्ले ?

कसले ?

जवाफ तपाईं आफैभित्र खोज्नुहोस् । किनभने तपाईंका यावत् चाहना, इच्छालाई कुष्ठित गर्ने अरु कोही नभएर तपाईं आफैं हो । अर्थात तपाईंभित्र रहेको ‘डर ।’

डरपोक जीवन

हामी आफ्नो उदेश्य, लक्ष्य, श्रम, लगावप्रति साह्रै कातर छौं । हामीलाई असाध्यै डर लाग्छ, असफल भइएला कि ? भन्ने । हामीलाई डर लाग्छ, अरुले के भन्नला कि ? भन्ने । हामीलाई डर लाग्छ, बिगि्रएला कि ? भन्ने ।

कुनै कुरा गर्नुअघि, कुनै काम थाल्नुअघि हामी भित्रको ‘डर’ले बाटो छेक्छ । त्यसले भन्छ, ‘घाटा पो लाग्ने हो कि ? बर्बाद पो हुने हो कि ?’

हुन त डरले सर्तक गराउँछ । कतिपय कुरामा बचाउँछ पनि । तर, निर्भिक भएर वा डरमुक्त भएर गरिने कामले लक्ष्यमा पुर्‍याउँछ । डर, यस्तो जड हो, जसले हामी आफैलाई भयाभित तुल्याउँछ । हाम्रो आत्माविश्वासलाई कमजोर तुल्याउँछ । केही गर्नका लागि हामीलाई प्रोत्साहित होइन, निरुत्साहित गर्छ ।

डर यस्तो कारक तत्व हो, जसले प्रगतिमा अवरोध पैदा गर्छ । भनिन्छ, संसारका थुप्रै मान्छे डरले ग्रसित छन् । र, उनीहरु असक्षम र असफल हुँदै आएका छन् ।

असफल हुने डर

हामीलाई लाग्ने सबैभन्दा डर हो, असफल भइएला कि भन्ने । हामी कुनै काम सुरु गर्नुअघि एउटै कुराले हतोत्साही बनाउँछ, असफल भइने त होइन ?

परीक्षामा असफल हुने डर । उद्यम व्यवसायमा असफल हुने डर । डरै डर । जब हामी डराई डराई कुनै काम गर्छौं, हाम्रो कार्यक्षमता कमजोर हुनपुग्छ । जुन शक्ति र लगावका साथ हामी अघि बढ्नुपर्ने हो, सक्दैनौं । डरले हामीलाई थिचेर राख्छ ।

हानी हुने डर

हामीमा के मानसिकता हुन्छ भने, जे गर्छौं, जति गर्छौं त्यसको पूर्ण नतिजा हासिल होस् । व्यवसाय सुरु गरेका छौं भने घाटा लाग्ने डर हुन्छ । पढाई गरिरहेका छौं भने कमजोर भइएला भन्ने डर हुन्छ । यस्ता डरले हामीलाई अठ्याएर टाउको उठाउनै दिदैन ।

गल्ती हुने डर

हामीलाई लाग्ने अर्को डर हो, गल्ती पो होला कि ?

गल्ती हुने डरकै कारण हामी केही पनि काम सुरु गर्दैनौं । कुनैपनि प्रयास गर्दैनौं । जब केही गर्छौं, केही भन्छौं । गल्ती होला भन्ने डर लाग्छ । त्यही डरले हामीलाई केही प्रयास गर्न नै दिदैन । जबकी काम गर्दा गल्ती हुन्छ । गल्ती हुनु मानविय कुरा पनि हो । मानिस रोबोर्ट होइन । र, हरेक गल्तीले केही न केही पाठ सिकाउँछ ।

अर्काले केही भन्ने हो कि भन्ने डर

हामी जब केही गर्ने सोंच बनाउँछौं । तब मनमा एउटा कुरा खेल्न थाल्छ, अर्काले केही भन्ने हो कि ?

अर्काले के सोच्छन्, के भन्छन् भनेर हामी सधै सर्तक रहने प्रयास गर्छौं । जबकी आफुलाई सोध्दैनौं, यो ठिक वा बेठिक ? के मैले सही गरे ?

यदि आफ्नो मनले सही गरेको भन्ने निचोड निकाल्छ भने अरुले केही भन्छ कि भनेर किन डराउनु ?

डरै डरको घेराबन्दी

हामीलाई आफुलाई लागेको गर्न पनि डर लाग्छ । आफुलाई भन्न मन लागेको कुरा भन्न डर लाग्छ । किन ?

किनभने हामी डरै डरमा हुर्कियौं ।

हामीलाई धर्मको डर देखाइयो । भूतको डर देखाइयो । लाजको डर देखाइयो । सजायको डर देखाइयो ।

जतिबेला हामी बुझ्ने भयौं । स्कुल जान थाल्यौं । आमाबुबा, घरपरिवार, शिक्षक-शिक्षिकाले हामीलाई डर देखाउन थाल्यो । डर यसकारण कि, डरको कारण नराम्रो काम नगरोस् भनेर । तर, त्यही डरले हामीलाई यसरी गाँज्न थाल्यो कि , राम्रो काम गर्न आँट गर्न समेत हामी डराउन थाल्यौं ।

डरको अघि जीत

भनिन्छ नि, डर के आगे जीत है ।

जब हामी डरलाई छिचोलेर अघि बढ्छौं । तब जित हासिल हुन्छ । जब हामी डराएर कुनैपनि कामबाट हात झिक्छौं, कुनै काम गर्ने प्रयास नै गर्दैर्नौं भने त्यसले हामीलाई जहिले पनि प्रगति पथमा लम्कनबाट रोक्छ । तर, जब डरलाई जित्छौं । हाम्रो अगाडिको बाटो खुला हुन्छ । हामी निर्धक्क अगाडि बढ्न सक्छौं ।