मेनुकाविरुद्ध पूजाको बयानः सुरुमा आश्रय दिइन्, वर्षौं शोषण गरिन्

0
113


१७ जेठ, काठमाडौं । एसएलसी दिन सदरमुकाम आएको बेला पूजा बोहोरामाथि सामुहिक बलात्कार भयो । २०६८ सालको यो घटनापछि उनले अनेक कष्ट सहिन् ।

उनलाई रक्षा नेपालकी मेनुका थापाले आश्रय दिइन् । काठमाडौंमा ल्याएर मुद्दा लड्नेदेखि बस्न र पढ्न सहयोग गरिन् । पूजाले न्याय माग गर्दै तत्कालीन कानुनमन्त्री नरहरि आचार्यलाई पत्र लेखेपछि पूजाले थप सहानुभूति पाइन् ।

तर, बिहीबार तीनै पूजाले पत्रकार सम्मेलन गरेर आफू थप शोषणमा परेको बयान दिएकी छन् ।

आफूसहित रक्षा नेपालमा आश्रित बालबालिकामाथि ज्यादती भइरहेको भन्दै छानविनको माग गरेकी छन् ।

पूजाले भनेकी छन्, ‘म रक्षा नेपाल र सञ्चालक मेनुका थापाबिरुद्ध सडकमा आएकी होइन, उहाँले मलाई पर्दाखेरी साथ सहयोग गर्नुभयो । तर, जति मलाई सहयोग गर्नुभयो, त्यो भन्दा बढि अत्याचार गर्नुभयो, शोषण गर्नुभयो ।’

अघि भनिन्, ‘म मानसिक रुपमा कमजोर बनेकी थिएँ, त्यो बेलामा समेत उचित माया पाउन सकिनँ ।’

राति १२ बजेसम्म भाडा माझ्न लगाउनेदेखि कलेज पढ्दा खाजा खर्च समेत नदिएको उनको गुनासो छ । रक्षा नेपालकी सञ्चालिका थापाले आफूहरुलाई बलात्कार पीडित बालिका भनेर देखाएर दाताहरुबाट रकम दिने र आफन्तलाई सुविधा दिनेदेखि निजी घर जोडेको पूजा बोहोराको आरोप छ ।

पुजा बोहराले वाचन गरेको अपिल

म पुजा बोहोरा, घर बैतडी जिल्लाको कैलपाल–९ डंसिलीमा सामान्य परिवारमा ६ भाई–बहिनी मध्येकी चौथो सन्तानका रुपमा जन्मिएकी हुँ । मैले कक्षा १ देखि ५ सम्म श्री कैलाश प्राथमिक विद्यालयमा पढेको हुँ । कक्षा ६ देखि १० सम्म श्री सिद्धेश्वर उ.मा.वि. सकार मेल्चौरा बैतडीमा पढेको हुँ । म पढाईमा राम्रै विद्यार्थी भएका कारण सबैबाट माया ममता पाउँथेँ । जसका कारण पढ्न सजिलो भएको थियो । म जहिले पनि प्रथम श्रेणीमा पास हुँदै आएको विद्यार्थी थिएँ ।

२०६८ सालमा एस.एल्.सी. दिने क्रममा मेरो सामुहिक बलात्कार भएपछि शारीरिक तथा मानसिक रुपमा विच्छिप्त भई काठमाडौं आए । बुबा र काकाको सहयोगमा २०६९ सालको पौष ९ गते जिल्ला अदालत बैतडी गएर बयान दिएँ । जसको आधारमा जिल्ला अदालत बैतडीले बलात्कारीलाई १३ वर्षको सजाय र ५०/५० हजार रुपैयाँ जरिवाना सहितको फैसला गर्‍यो ।

२०७० सालमा एसएलसी दिए । एसएलसीमा म प्रथम श्रेणीमा पास भएँ । तर त्यो समयमा पनि रक्षा नेपालकी अध्यक्ष मेनुका थापा ‘आमा’ ले मेरो न्यूज निकाल्नु भयो । जहाँ कि विशिष्ट श्रेणीमा पास भएको भनेर यस समयमा पनि उहाँले बढाईचढाई न्यूज निकाल्नु भएको थियो । यो कुरा मलाई राम्रोसँग थाहा छ ।

मलाई जहिल्यै आमाले किन झुटा न्यूज दिनुहुन्छ भन्ने भइरहन्थ्यो । एसएलसी पढ्दाखेरि पनि मलाई स्कुलको एक जोर ड्रेस मात्र किनिदिनु भएको थियो । बाहिर लगाउने ज्याकेट पनि नकिनिदिएका कारण पुरानो अरुले लगाएको ज्याकेट लगाएर जानुपर्दथ्यो ।

१० कक्षामा पनि खाजा ‘खा’ भनेर एक रुपैयाँसम्म दिनु भएन । १० कक्षामा पढ्दा स्कुलले एक दिने भ्रमणका लागि चाँगुनारायण लगेको थियो । सो भ्रमणमा जान सबैबाट एक हजार रुपैयाँ उठाइएको थियो । तर, मेरो आमाले भने पैसा दिन मान्नु भएन ।

म पैसा नतिरिकनै पिकनिक गएको थिएँ । मैले पैसा तिर्न नसकेकै कारण मलाई निकै लज्जास्पद स्थिति श्रृजना भएको थियो । जुन कुरा मेरा स्कुले साथीभाई र विद्यालयको सरलाई सोधे पनि थाहा हुन्छ ।

स्कुलमा पनि साथीभाईहरुले खाजा खान जाउँ भन्थे । तर, म दायाँबाँया छल्लिन खोज्दथे । किनकी मेरो मनमा औडाहा हुन्थो । यसरी मलाई जतासुकै विचरा ! बनाइयो । म मेरो बुबाको दुःख पीडा बुझेको मान्छे भएकै कारण पढेरै केही गर्छु भन्दै दुःख, कष्टहरु सहँदै बसेँ ।

मेरो इच्छा विपरित मात्रै त्यहाँ मलाई व्यवहार गरिन्थ्यो । मलाई झुट बोल्न लगाइन्थ्यो । सबै न्यूजहरुमा झुट बोल्न लगाउनुहुन्थ्यो । कहिलेकाँही कोही ठूला मान्छे आएको बेला भने धेरै नै माया गरेको नाटक गर्नुहुन्थ्यो ।

ममाथि शोषण

रक्षा नेपाल आएदेखि रातिको १२ बजेसम्म पनि सबैले खाएको जुठा भाँडा माझेर मात्र सुत्ने गर्दथेँ । जहिल्यै मैले भाँडा माझ्नु पर्दथ्यो । भाँडा नमाझेमा आमा र अरु सिनियर दिदीहरुले गाली गर्नुहुन्थ्यो ।

संस्थामा आश्रित भाई बहिनीहरुलाई काभ्रेकी पुजा कार्की र मेनुका थापा महिनावारी हुँदा लगाइएको रगतैरगतले लतपतिएको पेन्टीलगायत अन्य कपडाहरु समेत धुन लगाइन्थ्यो । अहिले रक्षा नेपालको सम्पर्क कार्यालय लैनचौरमा छ । तर, अन्य भाई बहिनीहरुलाई सतुङ्गलमा राखिएको छ ।

तर, कसैले सोधे गोदावरीमा राखिएको भन्दै पीडितकै परिवारका सदस्यलाई समेत झुट बोलेर भेट्न दिइन्न । बेलाबेलामा आमाले मलाई कुट्ने पनि गर्नुहुन्थ्यो । जेनतेन गरेर भएपनि मलाई पढेरै अगाडी बढ्नुपर्छ भन्ने मनसायले सहँदै आएँ ।

दश कक्षा पढ्दा पनि मलाई कुनै पनि किसिमका सुरक्षा दिइएन, म एक्लै पढ्न जान्थे । त्यहीँ बस्ने अन्य भाई बहिनीलाई भने स्कुल लैजाने, ल्याउने मान्छे हुन्थ्ये । बिना फोन, बिना पैसा मलाई कति डर लाग्दथ्यो, त्यो पीडा मलाई मात्र थाहा छ ।

एसएलसी दिएर विदा भएपछि पनि आमा मेनुका थापाले मलाई सबैले खाएको जुठा भाँडा माझ्ने र सबैको लागि खाना र खाजा पकाउने काममा मात्र लगाइरहनु भयो ।

तर, ‘मैले आमा अंग्रेजी भाषा सिक्न जान्छु, कम्यूटर कक्षा लिन जान्छु भन्दा तेरो बाउ राम सिंहले पैसा दिन्छ’ भन्दै गाली गरेर टार्नु हुन्थ्यो । तीन महिने बिदामा मैले केही पनि सिक्न पाइन ।

मलाई डर, त्रासमा पारी कब्जामा मात्र राखियो । त्यसपछि ११ कक्षामा भर्ना गर्ने बेलामा पनि आमाले मैले भने बमोजिम केही गर्नुभएन ।

बल्लबल्ल ११ कक्षामा लैनचौरमा रहेको आदर्श योगहरीमा भर्ना गरिदिनु भयो । तर घरमा जहिले पनि सबैले खाएको जुठा भाँडा माझ्ने काम गर्दै एघार कक्षा पढेँ ।

१२ कक्षा लैनचौरमै रहको जनकनाथ मेमोरियलमा कर्मश पढेँ । कारण आदर्श योगहरीमा विद्यार्थी कम भएको भन्दै बन्द भयो । मरो इच्छा विज्ञान पढेर चिकित्सक बन्ने थियो । जताततै मेरा इच्छा र चाहनालाई कुल्चिने काम गरियो ।

मलाई मेनुका थापा आमाले कहिल्यै पनि खाजा खानु भनेर एक रुपैया पैसा पनि दिनुभएन । खाजा नखाएरै १२ कक्षा पनि सकियो । १२ कक्षाको परिक्षा पश्चात ६ महिना कलेज बिदा हुदा पनि मलाई केही पनि सिक्न दिइएन ।

सतुङ्गलमा रहेको घरमा लगेर सबैले खाएको जुठा भाँडा माझ्ने काममा लगाइयो । तर मलाई केही न केही सिप सिक्न इच्छा थियो । मलाई झुक्याई झुक्याई गाली गरी गरि कुनै पनि क्लास नपठाइकन घरमा भाँडा माझ्ने काम गर्न मात्र लगाइयो ।

१२ को रिजल्टमा म प्रथम श्रेणीमा उत्तीर्ण भएँ । त्यसपछि ‘ल’ पढ्ने तयारी कक्षा पढ्नु पर्‍यो भनेँ । संस्था र आमाबाट सहयोग प्राप्त भएन ।

एक्लै पढ्छु भनेर अगाडी बढेँ । तयारी कक्षाका लागि भृकुटीमण्डपको ‘ल’ कलेज गएँ । त्यहाँ जाँदा पनि जहिले गाडी भाडा माग्दा आमाले यति त हिँडेरै जा, मसँग पैसा छैन भन्दै गाली गर्नुहुन्थ्यो । मलाई बाहिर हिँड्दा लगाउने कुनै पनि कपडा किनिदिनु भएन । अरुले नयाँ–नयाँ कपडा लगाएको देख्दा मेरो मन कुटुक्क हुन्थ्यो । जता पनि मलाई विचरा ! बनाइन्थ्यो । म सहेरै बसेँ ।

म आफ्नो इच्छाहरुलाई मारेर आफै सक्षम भएपछि किनेर लगाउँला भन्दै चित्त बुझाउँथे । आफ्नो पढाईलाई अगाडी बढाउने हेतुले बिजुलीबजारमा रहेको चक्रवर्ती ‘ल’ कलेजमा पढ्न गएँ । त्यहीँँ मैले पढ्ने निधो गरेपछि आवश्यक कापीकिताब किनिदिनुस् आमा भन्दा आमाले चासो देखाउनुभएन ।

मैले सबैसमक्ष अनुनयविनय गरेपछि रक्षा नेपालकै लोचना नेपाल म्यामले कापी किनिदिनु भयो । तर, आमाकोसामु कति रुँदा–कराउँदा पनि नानाथरीका गफ लगाएर टानुहुन्थ्यो । पहिलो वर्ष लैनचौरबाट नै विजुलीबजार धाएँ ।

त्यहाँ जाँदा लाग्ने गाडि भाडा माग्न धेरै गाह्रो हुन्थ्यो । मलाई माग्नै अप्ठ्यारो हुनेगरी तथा नाम अपशब्दहरुले गालीगलौच गर्नुहुन्थ्यो ।

कहिलेकाँही मुना दिदीले दिनुहुन्थ्यो त, कहिलेकाँही तलबाट माथि र माथिबाट तल जा भनी अल्झाइरहन्थे । सहदै गएँ, आमासँग छैन् होला भन्ने भावनाले रुँदै भए पनि कलेज जाने गर्दथेँ । कलेजमा खाजा खानको लागि भनेर आजसम्म पनि पैसा दिनु भएन ।

कलेजमा भर्ना नगरी कलेज जानु पर्दा साथी भाईहरुले मलाई किन भर्ना नगरी पढेको ? प्रश्न गर्दा म लज्जित हुन्थेँ । त्यसपछि मलाई मानसिक तनाब हुन्थ्यो । कलेजमा पनि २ वटा नाम दिइएको थियो । सोही कारण मलाई साथीभाईहरुको विविध प्रश्नहरुले तनाब हुन्थ्यो ।

उनीहरुका प्रत्येक प्रश्नहरुको उत्तर मसँग हुँदैनथ्यो । अहिले म दोस्रो बर्षमा अध्ययनरत छु । २०७१ पौष १ गते कान्तिपुर दैनिकमा न्यूज आमाले आफैँ बढाईचढाई लेखाउनु भएको हो । अन्र्तवार्ता पनि आमाले भने बमोजिम नै दिनुपर्दथ्यो ।

आमाले भने बमोजिम नभनेपछि मलाई तथानाम गाली गर्नुहुन्थ्यो । रक्षा नेपालमा आश्रय लिएर बसिरहेका म जस्ता पीडित छोरीहरुमध्ये सबैभन्दा ठूलो कक्षामा पढ्ने म नै थिएँ । तर, पनि कोही ठूलो मान्छे आएको बेला मलाई ११ कक्षामा पढ्छे भन्नुहुन्थ्यो । म जहिल्यै आमाको झुटप्रति चकित हुन्थेँ ।

आमाका आफन्त संस्थामा

निशा, एलिशा, सुष्मा, राधिका, गोमा, ईश्वरी, मनिश, उज्वल, राधिकाका दुई वटी बहिनीलगायत आमाका आफन्तहरुलाई रक्षा नेपालमै राखेर पढाइँदैछ मज्जाले । कसैलाई विदेश पठाइयो । तर, मलाई भने होस्टेल जाउँ भनेर थपक्कन पठाइयो ।

सबैभन्दा बढी आमाकै भाई भतिजा, भतिजी र आफन्त संस्थामा राखिएको छ । बाहिरीबाट ठूलाठूला मान्छेहरु, पत्रकारहरु, समाजसेवीहरु, कलाकारहरु, स्वदेशी तथा विदेशीहरु आउँदा भने हामी सबैलाई बलात्कृत भएको भन्दै देखाइन्छ ।

पटकपटक हाम्रो घाउँ कोट्याउने काम हुन्थ्यो । जबकि, आमाका आफन्तहरु कुनै भिक्टिम होइनन् । म जस्तै पीडित अर्की पुजा कार्कीलाई भने राम्रा–राम्रा कपडा किनिदिने, ल्यापटप दिने, राम्रो मोबाइल दिने गर्नुहुन्थ्यो तर, मलाई भने छुट्याइन्थ्यो ।

रक्षा नेपालमा बसेका आफन्त बाहेकले प्रायजसो पिटाई खानुपर्छ । जसका कारण त्यहाँ बस्ने भाई बहिनीहरु शारिरीक र मानसिक तनाबमा हुन्छन् ।

तर, होस्टलमा पैसा नदिएपछि मलाई होस्टलबाट म्यामले निकालि दिनुभयो । मलाई निकालेपछि पैसा तिरेको सुन्दैछु । सतुङ्गलमा कार्यक्रम हुँदा पनि मलाई र एन्ड्रियालाई नलगि त्यहि घरमा बस्न बाध्य बनाइन्थ्यो ।

मसँगै बस्ने एन्ड्रियालाई ‘त ड्रक्स खान्छस्, चुरोट खान्छेस्’ जस्ता नानाथरी आरोप लगाई पागल बनाइयो । मलाई भने २०७४ मंसिर १७ गते मध्यबानेश्वरमा रहेको माता पाथिभरा गल्र्स होस्टेलमा राखिदिनु भयो ।

रक्षा नेपालबाट विभिन्न लान्छना लगाएर महिमा, विशाल, अशोक, दिपेश, शिशिर, क्रिस, शुसिल, एन्ड्रिया र आस्थाको भाईलगायतलाई निकालियो । उनीहरु कहाँ र कुन अवस्थामा छन् ? खोजी गरियोस् ।

होस्टेल राखेपछि मलाई कहिले पनि रक्षा नेपाल लगिएन । पछि होस्टल सेतोपुलमा सारियो । होस्टेलमा पैसा नतिरेको कारण होस्टेल सञ्चालक रुपाली गुरागाईले मलाई जहिल्यै कोठा सारिरहने गर्नुहुन्थ्यो । मलाई पढाइमा बाधा हुन्थ्थो । तैपनि पढ्छु भन्दै पढ्दै गएँ ।

म एकदिन विरामी पनि भएँ । रुपाली आन्टीले फोन गर्दा आमाले फोन नै अफ गरेर राखिदिनुभयो, मलाई औषधीउपचार गर्नुको साट्टो ।

होस्टेलको आन्टीले पनि मलाई तिमी पैसा नतिरेको मान्छे हो, नौ हजार तिर्ने विद्यार्थीलाई राख्नु पर्‍यो भन्दै मलाई कोठा सार्नु हुन्थ्यो ।

बिरामी भएको दिन आमाले लिन नआएपछि रुपाली आन्टी अत्तालिएर ‘तिम्रो आमाले कुनै पनि जिम्मेवारी वहन गर्न नसक्ने भए, म पनि जिम्मा लिन सक्दिन, आधा घण्टामा मेरो होस्टेल खाली गर भन्नुभयो ।’

भोलिपल्ट आमाले पनि होस्टेल छोड् भन्दै आफन्तकोमा जान भन्नुभयो । म छक्क परेँ । एक्कासी आमाले नै आफन्तकोमा जा भनेपछि म सबै सामान लिएर रक्षा नेपालमै गएँ ।

म रक्षा नेपाल गएपछि आमाले ‘अब त काँ जाने हो, जा यहाँ तेरो लागि कुनै पनि ठाउँ छैन’ भनेपछि म एक्कासी आत्तिएँ ।

मलाई अत्यन्तै दुःख महसुश भयो । मलाई रक्षा नेपालमा बस्न नदिएपछि म भाउजुको ठूलोबुबाको कोठामा गएँ । भोलिपल्ट पनि रक्षा नेपाल गएर आमा मेनुका थापासँग कुरा गर्दा पनि ‘त जाँ सुकै जा, यहाँ बस्न पाउँदिनस’ भन्नुभयो । त्यो दिन मलाई सावित्री पुडासैनीकोमा पठाइयो ।

यसरी मलाई कलेज पढिराखेको मान्छे कहिले कता त ? कहिले कता ? भन्दै पठाउने काम भयो । मेनुका आमाको त्यो ब्यवहारले मलाई अतिनै असैह्य पीडा महसुश भइरहेको छ ।

सावित्री पुडासैनी मसाजमा काम गर्नुहुन्छ । उहाँको कोठामा पठाउन खोजेपछि म रक्षा नेपालको बाहिरै बसे ।

मुना दिदीले हिँड् जाँउ भनेपछि आमा लैनचौरकै सीप क्याँफेमा हुनुहुृन्थ्यो । आमा मेनुका थापाले मलाई भेट्ने वित्तिकै मोबाइलले मेरो नाकमा हिर्काउनु भयो । मुना दिदीलाई पनि यो घटना थाहा छ ।

मेरो नाकबाट रगत आयो, म बेहोस जस्तो भएर आफैँले त्यहि क्याँफेका दाईसँग पानी मागेर खाएँ । सावित्री दिदिले मलाई नाकमा लगाउने मलम र पेन किलर किनेर दिनुभयो । मलाई रातभरी जरो आयो । त्यो नाकको घाउ अहिलेसम्म दुखिरहेको छ ।

आमाले मलाई गर्दा अतिनै पीडा भएको छ । म सहनै नसकेपछि रानीपोखरी प्रहरी कार्यालयमा गएँ । तर, आमाले मलाई आश्रय दिनेलाई नै उजुरी गरेको सुनेको छु ।

तर, मैले त्यसअघि नै अामाको ज्यादती प्रहरीकोमा भनिसकेको छु । त्यो दिन प्रहरी कार्यालयबाट फोन गर्दा आमाको मोबाइलमा कल फरवार्ड गरिएको थियो । आफू पीडामा परेको कुरा मैले त्यही जानकारी गराईसकेको छु । तर, त्यहाँबाट पनि मलाई लैनचौर गएर निवेदन देउ भनियो । म झनै पीडामा छु ।

आमाले नै फेसबुक चलाउनुहुन्थ्यो

आमा मेनुका थापाले मेरो फेसबुक पनि उहाँको लक्की नम्बरमा खोल्नु भएको कुरा मलाई राम्रोसंग थाहा छ । मेरो फेसबुक पनि आमा मेनुकाले आफै चलाउनुहुन्थ्यो ।

आफ्नै बारेमा राम्रा–राम्रा कुराहरु पोष्ट गर्नुहुन्थ्यो । जुन कुराले उहाँलाई राम्रो हुन्थ्यो ।

अरुको पनि फेसबुको पासवर्ड उहाँलाई थाहा छ । अन्य भाई बहिनीहरुलाई पनि आमाले पिटी–पिटी नियन्त्रणमा राख्नुहुन्थ्यो, जुन कुराले मलाई थप पीडा महसुश हुन्थ्यो । रक्षा नेपालको आश्रय लिएर बसिरहेका अन्य भाईबहिनीहरुलाई बाहिर देख्दा सुखी देखिन्छन् ।

तर, उनीहरुको भित्री अवस्था दयनीय छ । उनीहरुलाई समेत सरोकारवाला निकायहरुबाट अवलोकन गरियोस् । उचित बस्ने ब्यवस्था र शिक्षादिक्षाको ब्यवस्था गरियोस् ।

उनीहरुलाई पनि मलाई जस्तै कब्जामा राखिएको छ, ताकी संस्थाको कुनै पनि कुरा बाहिर नजाओस् भनेर ।

मैले पाएको गोल्ड मेडल खै आमा ?

२०१२ मा कोरियामा तेक्वान्दो प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा २५ वटा राष्ट्रले सहभागिता जनाएका थिए । सो खेलमा मेरा मैले भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्नु परेको थियो । मैले भारतलाई पछि पारी गोल्ड मेडल जित्न सफल भएको थिएँ ।

कोरियाली समाज र नेपाल दूतावासले हामीलाई सम्मान गरेको थियो । त्यहाँ पाएको सबै पैसा र सम्मानपत्र आमाको भतिजी ईश्वरी थापाले कब्जामा लिनुभयो । कोरिया जाँदा पनि रक्षा नेपालको तर्फबाट ७ जना गएका थियौं । साथमा तेक्वान्दो गुरु अशोक खड्का पनि हुनुहुन्थ्यो ।

रक्षा नेपालको तर्फबाट गएका ६ जनालाई नेपाली कल्चर ड्रेस लगाएर लगियो तरफ मलाई मात्र ड्रेस दिइएन । मलाई झन दुःखले असैह्य भयो । सुरुदेखि नै अरुलाई काखा र मलाई पाखा गरियो । कोरियाबाट फर्किएपछि पनि अरुलाई अगाडि ल्याइयो तर मलाई भने वास्तै गरिएन ।

म तिरस्कारमा परे । किन परे मलाई अहिलेसम्म थाहा छैन । तेक्वान्दो प्रशिक्षणका बेला मलाई अन्य काममा लगाइन्थ्यो । जुन दिनदेखि मैले जितेको गोल्ड मेडल आमाको हातमा पर्‍यो, त्यस दिनदेखि मैले त्यो जितेको गोल्ड मेडल र सर्टिफिकेट हेर्नसम्म पाएको छैन ।

त्यो गोल्ड मेडल र सर्टिफिकेट दराजमा ताल्चा मारेर राख्नुभएको छ । आजसम्म रक्षा नेपालको प्रायजसो कार्यक्रममा मलाई सहभागी गराइन्न ।

स्वदेशी तथा विदेशी सहयोग

हामी बालबालिकाको नाममा स्वदेशी तथा विदेशी दाताहरुले थुप्रै सहयोग गर्नुभएको छ । मेरो नाममा धेरैले सहयोग गरेका छन् । तर, मैले नै अवसरबाट बन्चित हुनुपरेको छ । हाम्रो नाममा विदेशी दाताहरुले दिएको फण्ड पनि नआएको भन्दै ठूलाठूला मान्छे आउँदा रटाएर सहयोगका याचना हामीमार्फत गर्न लगाइन्छ ।

रुटस् फर लाइफ, हेल्प इन्टरनेशनल, क्यारोला घोस, लेश्ली ब्राउनलगायत थुप्रै विदेशी तथा स्वदेशी दाताहरुले सहयोग गरेका छन् ।

होस्टलमा राख्दा विना सम्झौता माता पाथीभरा गल्र्स होस्टेलमा राखिदिनु भयो । होस्टेलमा पनि मलाई सम्पूर्ण सुविधाबाट बञ्चित गराइयो । ०७४ साल मंसिर १७ गतेबाट होस्टेलमा बसेता पनि हालसम्म होस्टेलको शुल्क नतिरेकै कारण मलाई होस्टेलबाट निकालियो ।

त्यो कुरा प्रहरी, प्रशासनले केरकार गरेको खण्डमा यर्थाथ खुल्ने छ । होस्टेलको आन्टीले पनि पैसा नतिरेको भन्दै शुरु–शुरुमा टचर दिनुभयो । तर, मैले मेरो बास्तकिता बताएपछि राम्रै व्यवहार गर्नुभयो ।

पैसा नतिरेको कारण मलाई निकाल्दा समेत मेरी आमाले मलाई लिन आउनु भएन । मलाई तिरस्कार गरियो । म अहिले सडकमै छु भन्दा फरक पर्दैन । अहिले म मेरो साथीको दाईभाउजुको परिवारका केही दिनका लागि आश्रय लिएर बसेको छु ।

मिडियामा कुरा पुगेपछि उहाँलाई समेत फसाउन मलाई लगेको भन्दै उजुरी गरेको सुनेको छु । तर, त्यो सबै गलत हो । उहाँको बहिनी पनि एउटा भिक्टिम हो । पहिला आश्रय लिएर सोही ठाउँमा बसेकी थिइन् । तर विभिन्न टचर दिएपछि उनको दाईले त्यहाँबाट फिर्ता लग्नुभयो ।

कलेजको सहयोग

कलेजमा पढ्दा शुरुका एक वर्षसम्म कलेज शुल्क तिरिएन भनें भर्नाको त कुरै भएन । तर, पनि कलेज प्रसाशनलगायत कलेजका प्रिन्सिपल देवेन्द्र भण्डारी सर र अनिता थापा म्यामले मलाई राम्रो व्यवहार गर्नुभयो ।

जनकनाथ कलेजका प्रिन्सिपल हरि सापकोटा सरले म र मानुसीप्रति ठूलो सहयोग गर्नुभएको छ । उहाँको सहयोग म बाचुञ्जेलसम्म विर्सने छैन ।

मानुसीका कुरा

रक्षा नेपालको शरणमा आएकी पीडित बहिनी मानुसीलाई पनि विभिन्न टचर दिइरहन्थे । उनले ल्याएको कपडा र पैसा दिइन्नथ्यो ।

उनको दाजुले खाजा खान छाडेको पैसा पनि खोसेर राखिन्थ्यो । जनकनाथ कलेजमा बल्लतल्ल भर्ना गरिदिएता पनि अन्य कुनै पनि सहयोग गरिएन । विभिन्न टचर दिएपछि उनको दाजुले ७ महिना जतिपछि त्यहाँबाट फिर्ता लग्नुभयो ।

उहाँ पनि एउटा प्रमाण हो । पीडित परिवारको सदस्य भएकाले उहाँलाई पनि धेरै कुरा थाहा छ । बहिनी झनै पीडामा छिन् ।

उनको पनि हालसम्म नागरिता बनेको छैन । मोरङ्ग जिल्ला अदालतले वहिनीको विपक्षमा मुदाको फैसला गरेको छ । तर, रक्षा नेपालले बहिनीको लागि एउटा वकिल समेत राखेन । थप कुरा उनीबाटै बुझ्न सक्नु हुन्छ ।

र, अन्त्यमा

पीडितको नाममा सहयोगी दाताहरुले आफ्नो गाँस काटेर दिइएको रकमबाट आफ्नो व्यक्तिगत धनसम्पत्ति जोड्नु भएको छ भन्ने मैले आरोप लगाएको जस्तो देखिन्छ । तपाईहरुले नै छानविन गरेको खण्डमा त्यो पनि सत्य पाउनु हुनेछ । आमाले धापाखेलमा घर किन्नु भएको छ ।

विदेशी सहयोगले सतुंङगलमा जग्गा जमिनसहित आफ्नै विशाल भवन छ । जुन ब्यक्तिगत नाममा भएको सुनेको छु ।

यदी त्यसो हो भने उक्त सम्पत्ति संस्थाको नाममा ल्याइयोस् । त्यसमा सबैको साथ होस् भन्न चाहन्छु । पीडितको नाममा आएको रकम हिनामिना गरि अकुत सम्पति जोडेकाले रक्षा नेपालकी सञ्चालक एवम् अध्यक्ष मेनुका थापालगायतलाई यथासिघ्र अनुसन्धानको दायरामा ल्याउन म ब्यक्तिगत रुपमै नेपाल सरकारसमक्ष अपिल गर्छु ।

संस्थाको आश्रय लिई बसेका भाईबहिनीहरुलाई कुनै पनि अधिकारबाट वञ्चित नगराइयोस् । संस्थाबाट निकालिएका र निस्कन बाध्य पारिएका हालसम्मका सबै भाईबहिनीहरुलाई सम्बन्धित सरोकारवाला निकायहरुले यथासिघ्र खोजतलास गरी उनीहरुले पाउने सहयोग ब्यवस्था र अधिकार प्राप्त गराइयोस् ।

म कानुन पढेर अन्यायमा परेका सम्पूर्ण म जस्तै पीडामा परेका दाजुभाई तथा दिदीबहिनीहरुको पक्षमा वकालत गरी न्याय दिलाउन अग्रसर हुने प्रण गर्छु । पीडितलाई न्याय र अपराधीलाई दण्ड सजाय दिइयोस् ।

कानुन विषय पढेर उच्च आहोदामा पुग्ने मेरो सपना छ । मलाई असल ब्यक्ति बन्नु छ । सबैको साथ र सहयोग चाहिएको छ । अहिले म दुवैतर्फबाट असुरक्षित छु ।

मैले आमाकै विरुद्ध आवाज उठाउने प्रयास गरेको छु । जसका कारण म आफ्नै आमा मेनुका थापाबाट असुरक्षित छु । मेरो सुरक्षाको ग्यारेन्टीका लागि समेत म सरकारसमक्ष अपिल गर्छु ।

मेरा शुभचिन्तक जो जसले जहाँजहाँबाट सहयोग गर्नुभयो सबैलाई धन्यवाद ।

मलाई न्याय नमिलेसम्म तपाईको साथ र सहयोग चाहिन्छ । मेरो पीडालाई सँधैका लागि शान्त पार्ने, श्वास फेर्न र मलाई स्वतन्त्रताको साथ डरत्रास विना नै हिडडुल गर्ने बाताबरण बनाउन म अपिल गर्छु ।

निवेदक

पुजा बोहरासहित