नक्कली स्टिकर प्रकरण: पाँचजना जेल चनाल

0
100


१७ जेठ, बुटवल । दुई महिनाअघि अन्तःशुल्कको नक्कली स्टिकरसहित पक्राउ परेका पाँचजना जेल चलान भएका छन् ।

बिहीबार आन्तरिक राजश्व कार्यालय भैरहवामा भएको थुनछेक बहसमा दुईजना भारतीय नागरिकलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो ।

यस्तै तीनजना नेपाली नागरिकलाई प्रतिव्यक्ति दुई करोड ८ लाख ९७ हजारका दरले ६ करोड २६ लाख ९२ हजार रुपैयाँ धरौटी माग गरिएको थियो । उक्त धरौटी बुझाउन नसक्दा उनीहरुलाई पनि थुनामा राख्न आदेश दिइएको राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत अर्जुन ढकालले बताए ।

थुनामा पर्ने विनोदकुमार सिंह र समसुद्धिन मुसलमान भारतीय नागरिक हुन् भने मोहम्मद गद्दी मुसलमान, भवानीप्रसाद उप्रेती र कामेश्वर महत्तो नेपाली नागरिक हुन् ।

उनीहरुले गत चैतमा भारतीय नम्बर प्लेटको गाडीमा राखेर रुपन्देहीको सुनौली नाकाबाट नेपालतर्फ ल्याउँदै गर्दा भारतमा छपाइएका ५० यूपी शक्तिको मदिरामा प्रयोग हुने करिब चार लाख थान नक्कली स्टिकरहरु राजश्वले बरामद गरेको थियो ।

अन्तशुल्क ऐन ०५८ मा नक्कली अन्तःशुल्क उत्पादन, पैठारी, ओसारपसार तथा भण्डारण गरेमा विगो जफत गरी विगोको शत प्रतिशत जरिवाना एवं एक वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्ने व्यवस्था छ ।

नक्कली स्टिकर प्रयोग गर्नुलाई अन्तःशुल्कमा सबैभन्दा गम्भीर अपराध मानिन्छ । यस्तै राजश्वले रुपन्देहीको एक डिष्टिलरीलाई शिलबन्दी गरेर अनुसन्धान भइरहेको जनाएको छ । राजश्वले उक्त डिष्टिलरीको नाम र शिलबन्दी गर्नुको कारण भने गोप्य राखेको छ ।

राजश्वले विगत लामो समयदेखि राजस्व बक्यौता राख्नेहरुको नामावली पत्रिकामा प्रकाशन गरी उक्त बक्यौता कर समयमै दाखिला नगरेमा बैंक खाता, घरजग्गा लगायत चलअचल सम्पत्ति, आयात निर्यात रोक्का लगायतका कारवाही गर्ने र राजस्व छली गर्नेहरुप्रति कठोर निर्णय लिने जनाएको छ ।

पछिल्लो राजश्व छली, लुकेका करदाता खोजी तथा करको दायरामा नआएकाहरुलाई कडाई गरेपछि आर्थिक वर्षमा लिइएको लक्ष्यभन्दा एक सय पाँच प्रतिशत बढी संकलन प्रगति गरेको कार्यालयले जनाएको छ ।