चियाको चमत्कार: फुटपाथबाट उठेको विमलाको जिन्दगी

0
12


दिनमा कति कप चिया बेच्नुहुन्छ ?

‘त्यस्तै चार/पाँच सय’ भनिरहँदा पनि विमला पराजुलीको हातले विश्राम पाएको छैन । अघिल्तिर शहरिया युवायुवतीहरू चियाकै लागि धर्ना दिएर बसेका छन् । झुरुप्प-झुरुप्प । एकअर्कासँग गफिइरहेका । झट्ट हेर्दा, गुडिरहेको रेलको डिब्बामा सयर गरिरहेजस्तै ।

कसरी कप ?

‘अँ’ उनी हतारमै सर्टकट जवाफ दिन्छिन्, ‘२० रुप्पे ।’

हामी औंला भाँच्न थाल्छौं, प्रति कप २० रुपैयाँको दरले प्रति दिन चार सय कप चिया । २० लाई चार सयले गुणन गर्दा निस्कने गुणनफल हो, आठ हजार । विमला पराजुलीको दैनिक आर्जन सुनेर हामी मात्र होइन, तपाईं पनि चकित पर्नुहुनेछ । यो कमाइ विशुद्ध चिया बिक्रीबाट प्राप्त भएको हो । यसमा विशुद्ध श्रमबाहेक कुनै अपाच्य-तत्व मिसिएको छैन । यसो भनौं, यो पसिनाको कमाइ हो ।

पुर्खाहरू भन्छन्, ‘पसिनाको कमाइ खाँदा स्वस्थ भइन्छ । चित्त शुद्ध हुन्छ । अनुहार प्रफुल्ल हुन्छ ।’ निःसन्देह, विमला पराजुली दम्पतिको चेहरामा त्यस्तै खुसी प्रकट भइरहेको हो ।

त्यतिका भीडको तलतल मेटेर पनि उनी हामीसँग यसरी गफिइरहेकी छिन्, मानौं उनलाई कुनै धपेडी छैन । कुनै छटपटी छैन ।

‘काम गर्ने जाँगर हुनुपर्छ कि सर, विदेश जानै पर्दैन । खै, हामीले विदेश जानु परेको छैन त । होइन र ?’

उनीहरू जहाँ दुध-चिया बेचिरहेका छन्, त्यहाँ थामिनसक्नु भीड जमिसकेको छ । जब कि त्यो कुनै असनको गल्ली होइन । दरबारमार्गको शानदार लाउञ्ज पनि होइन । शहरको कुनै नामी चोक होइन । चल्तीको जक्सन पनि होइन ।

नयाँ बानेश्वरबाट पुरानो बानेश्वरतर्फ लागेपछि दायाँतर्फ मोडिनुपर्छ । पुरानो शिवदर्शन हलकै विपरीतबाट साँघुरो गल्ली छिचोल्नुपर्छ । होर्डिङ बोर्डमा पसलको नाम खोज्दै जानुभयो भने तपाईले दशौं फन्को लगाउँदा पनि दोकान भेट्नुहुन्न । किनभने दोकान अलि कुनामा छ । सटर होइन, कुनै टहरोजस्तो ।

टहरो भएर के भो त, चियाका पारखीहरू खोजी-खोजी टुप्लुक्कै त्यहीँ आइपुग्छन् । मानौं, विमला पराजुलीको हातबाट बनेको चिया नपिएसम्म उनीहरूको ‘डोज’ नै पूरा हुँदैन ।

चियाले चमत्कार !

दोकान नजिकै डेरा छ । डेरा भाडा आठ हजार रुपैयाँ, दुई वटा कोठाको । १६ वर्षे छोरो, पति-पत्नीसहित तीन जनाको बास छ ।

बिहान ज्यान तङ्ग्रिन नपाउँदै विमला डेराबाट सोझै दोकानमा आइपुग्छिन् ।

बिहान ६ बजेदेखि राति ८ बजेसम्म अविछिन्न उभिएरै चिया बनाउँछिन्, बेच्छिन् । तर पनि उनको गोडा थाक्दैन । हात थाक्दैन । जाँगर सेलाउँदैन, जसरी डेक्चीमा भकभक उम्लिरहेको चिया सेलाउँदैन । उनी भन्छिन् पनि, ‘अहँ, अल्छी भनेको कस्तो हुन्छ मलाई थाहा छैन । मलाई त खुब जाँगर चल्छ ।’चियाको चमत्कार: फुटपाथबाट उठेको विमलाको जिन्दगी baneshwor tea shop 2

एक ठूलो डेक्चीमा दूध उम्लिरहेको छ । त्यसमा दानादार चिया पत्ती मिसाइन्छ । चिनी मिसाइन्छ । अब सुकुमेलको गेडा सिलौटोमा पिसिन्छ ।

त्यो पनि मिसाइन्छ । नजिकै मझौला डेक्चीमा उसैगरी चिया उम्लिरहेको छ । ठूलो डेक्चीको चिया मझौला डेक्चीमा हाल्दै पुनः उमालिन्छ ।

यसरी उम्लिएको तात्तातो चिया गिलासमा खन्याइन्छ । धर्ना दिइरहेका युवाहरू जर्‍याक-जुरुक उठ्छन् । आफ्नो भागको कप उठाउँछन् र साविकको ठाउँमा बस्छन् ।

‘सेल्फ सर्भिस हो ?’ हामी सोध्छौं ।

एउटा बोरा बिछ्याइन् । स्टोभ राखिन् । दम दिइन् । झ्यार्र सलाई कोरिन् । स्टोभ बल्यो । त्यसमाथि डेक्ची बसाइन् । थोरै पानी, केही पोका दूध, चिनी, चियापत्ती मिसाएर उमालिन् । उनलाई कता-कता लाज लाग्यो ।

‘त्यसो नगरे त बाँड्ने फुर्सद नै हुँदैन’ एउटा झोलाभरी डिस्पोजल गिलास झुन्ड्याएर कित्लीमा चिया ओसारिरहेका पति जवाफ दिन्छन् ।

आसपासका पसलेहरूलाई चिया सर्भ गर्नमा भ्याइनभ्याइ छ उनलाई । उनी मेलम्ची खानेपानीका कर्मचारी रहेछन् । कार्यालय समय अघि र पछिको समय उनी पत्नीलाई साथ दिन आइपुगेका रहेछन् ।

कहिले उनी चिया बोकेर बाहिरिन्छन् । कहिले जुठो गिलास पखाल्छन् । उनको हातखुट्टा जति चल्छ, सायद मुख पनि । भन्दैछन्, ‘काम गर्ने जाँगर हुनुपर्छ कि सर, विदेश जानै पर्दैन । खै, हामीले विदेश जानु परेको छैन त । होइन र ?’

झट्ट सुन्दा उनले ‘फुर्ती’ लगाएजस्तो लाग्छ । तर, कुरा सोहै्र आना सही हो । सही किनभने, जो उनीहरूको कर्म र त्यसको प्रतिफलले देखाउँछ । कुनैबेला पहाडी गाउँबाट रित्तो हात राजधानी छिरेका उनीहरूले आज पसिना बेचेर आफ्नो जिन्दगीलाई रनघन बनाएका छन् ।

अब उनीहरूको जीवनमा डेढ दशकअघिको अभाव र कष्ट छैन । आफ्नै बलबुतोमा ती कष्टहरू बढारेर ‘सुकिला’ दिनहरू गुजारिरहेका छन् ।

चियाको चमत्कार: फुटपाथबाट उठेको विमलाको जिन्दगी baneshwor tea shop 1

एउटो छोरोलाई राम्रै स्कुलमा पढाएका छन् । राजधानीमा जग्गा जोडेका छन् । कसैले ‘काठमाडौंमा के गरी बसेका छौ’ भनेर सोध्यो भने, ठाँटसँग यसो भन्न सक्ने अवस्थामा छन्- ‘राम्रैसँग गरिखाएका छौँ । सुखसँग बसेका छौँ । वर्तमानमा रमाएका छौँ, भविष्य सुरक्षित गरेका छौँ ।’

फुटपाथबाट उठेको जिन्दगी

कथा १६ वर्षअघिको हो ।

विमला पराजुलीले सानो स्टोभ तयार गरिन् । केही थान गिलास । एक जार पानी । चियापत्ती । चिनी । दूध ।

धर्तीमा झिसमिसे उज्यालो खस्न नपाउँदै उनी डेराबाट निस्किइन् । हिँड्दै नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (त्यसबेला वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र)को तीन नम्बर गेट अघिल्तिर पुगिन् । आकाशमा ताराहरू झरेकै थिएन । घडीको काँटाले तीन बजेको संकेत गरिरहेको थियो ।

एउटा बोरा बिछ्याइन् । स्टोभ राखिन् । दम दिइन् । झ्यार्र सलाई कोरिन् । स्टोभ बल्यो । त्यसमाथि डेक्ची बसाइन् । थोरै पानी, केही पोका दुध, चिनी, चियापत्ती मिसाएर उमालिन् । उनलाई कता-कता लाज लाग्यो ।

डिपार्टमेन्ट स्टोरका मालिक आए र मायालु भाषामा भने, ‘बेच, बेच । काम गरेर खानु लाज मान्नुपर्दैन । तिमी धेरै मेहनत गर्दा रहेछौ, केही समस्या भए मलाई भन्नू ।’

‘त्यसबेला १७, १८ वर्षकी थिएँ’ विमलाले सुनाइन्, ‘लाज लाग्ने उमेरै थियो नि ।’ त्यो पनि कहिल्यै नगरेको काम । दोबाटोमा बसेर कहिले पो दोकान फिँजाएकी थिइन् र ?

तर, अभावले लखेट्न थालेपछि जे सकिन्छ, गर्नैपर्छ । नगरे मुखमा माड पस्दैन । भर्खर छोरो जन्मिएको छ । पुग-नपुग १० महिनाको छोरोलाई डेरामै छाडेर हिँड्ने रहर कहाँ हो र ?

काठमाडौंको महँगीमा जीवन धान्नै गाह्रो भएपछि उनले चिया बेच्ने सुर कसेकी थिइन् । पतिको जागिर त थियो, तर उनको कमाइले खानबस्न नपुग्ने । ‘दुःखै थियो नि’ विमला पुरानै दिनमा फर्किइन्, ‘त्यसमाथि काठमाडौंको महँगी । जे पनि किनेर खानुपर्ने । तर कमाइ थोरै ।’

चियाको चमत्कार: फुटपाथबाट उठेको विमलाको जिन्दगी baneshwor tea shop 3

यता अभाव, उता अभाव । अभावै-अभावले घेरा हालेपछि उनले ‘लाज’ पचाइन् । ‘अल्छी’ पचाइन् । अनि पाँच सय रुपैयाँमा जोरजाम गरेको मट्टितेल, दूध, चिया, चिनी बोकेर बानेश्वरको सडकमा निस्किइन् ।

‘सुरुको दिन बिहान तीन बजे नै फुटपाथमा पुगेर चिया उमाल्न थालेँ’ उनी भन्छिन्, ‘यता-उता हिँडडुल गर्नेहरू चिया पिउन आए ।’

एउटा आउँछ, पिउँछ । अर्को आउँछ, पिउँछ । पाँच सयमा जोरजाम गरेको चिया बेच्न कत्ति बेर लागेन । बिहान नै चिया बेचेर डेरा फर्किइन् ।

प्रति कप पाँच रुपैयाँको दरले चिया बेचेकी थिइन् । डेरामा पुगेर हिसाब-किताब गरिन् । खर्च कटाएर डेढ सय रुपैयाँ नाफा भएछ । ‘त्यो मेरो सुरुको कमाइ थियो’ उनले थपिन्, ‘त्यति भए पनि त भरथेग हुन्छ भन्ने लाग्यो ।’

अर्कोदिन उनी तीन बज्नुअघि नै उठिन् । उसैगरी आफ्नो अड्डामा पुगिन् । चिया उमालिन् । आडमै थियो, डिपार्टमेन्ट स्टोर । त्यसका मालिक आए र मायालु भाषामा भने, ‘बेच, बेच । काम गरेर खानु लाज मान्नुपर्दैन । तिमी धेरै मेहनत गर्दा रहेछौ, केही समस्या भए मलाई भन्नू ।’

यही वचनले उनको पाइला विचलित हुन दिएन । उनी दिनदिनै उसैगरी फुटपाथमा चिया बेच्न थालिन् । दिनदिनै ग्राहक थपिए । एक पटक चिया पिएका ग्राहक पटक-पटक आउन थाले । दूधको चियाबाहेक उनले अरू लगानी थप्नै परेन । त्यही चिया बेच्न उनलाई भ्याइनभ्याइ भयो ।

हेर्नुस् भिडियो

फुटपाथबाट उठेको उनको चिया पसल अहिले यस्तो जक्सन भएको छ, जहाँ नपुगी शहरिया तन्नेरीहरूको धीत मर्दैन । नियमित आउने तिनै तन्नेरीहरूले उनको दोकान भरिभराउ हुन्छ । स्कुल/कलेज पढ्ने तन्नेरीहरू आउँछन् । चिया माग्छन् । गफिन्छन् । जतिबेर बसे पनि, जति गफ गरे पनि उनीहरूलाई छेकबार छैन । ‘जतिसुकै भीड भए पनि ग्राहकलाई उठ भन्दैनौँ, सबैलाई हाँसीखुसी बस्न दिन्छौँ । गफ गर्न दिन्छौँ’ विमला भन्छिन् ।

पाँच सयबाट सुरु गरेको उद्यमले अहिले महिनामा दुई लाख हाराहारीमा आम्दानी हुन्छ । यत्तिका कमाइ गर्नका लागि उनले न लगानी थप्नुपरेको छ, न कुनै फन्डा गर्नुपरेको छ । केवल आफूले सुरुदेखि बनाउँदै आएको चियाको स्वाद खस्कन दिएकी छैनन् । ‘राम्ररी खेली-खेली पाक्न पायो भने स्वादिलो हुन्छ’ विमला भन्छिन्, ‘अरू एक एक कप थप्नुहुन्छ सरहरू ?’