‘डा. देवकोटाले मृत्युलाई साहसिक रुपमा स्वीकार्नुभएको छ’

0
108


आफैंले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालको शय्यामा सिकिस्त अवस्थामा उपचाररत छन् वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा । सिंगै देशले उनको स्वास्थ्यलाभको कामना गरिरहेको छ ।

६३ वर्षी डा. देवकोटा करिब ४० वर्षदेखि चिकित्सा पेशामा छन् । भारतमा एमबीबीएस गरेर सन् १९७८ मा फर्किएपछि उनले वीर अस्पताल ज्वाइन गरेका थिए । उनले तत्कालीन सर्जरी विभाग प्रमुख डा. दिनेशनाथ गोंगलको मातहतमा रहेर वीर अस्पतलामा लामो समय काम गरे । देवकोटा न्यूरोसर्जन बन्नुमा गोंगलको ठूलो हात छ ।

गोंगल अहिले ८६ वर्ष पुगे । यो उमेरमा पनि उनी न्यूरो अस्पतालमा दैनिक पुग्छन् र बिरामी हेर्छन् । यद्यपि देवकोटालाई क्यान्सरले गलाउँदै लैजाँदा उनका नौनाडी पनि गलिरहेका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले डा. देवकोटासँगको ४० वर्ष लामो संगत यसरी स्मरण गरे:

म वीर हस्पिटलमा सर्जरी डिपार्टमेन्टको हेड थिएँ । एक दिन मेरो डिपार्टमेन्टका डा. रामशायमान अमात्यले एक जना नयाँ मेडिकल अफिसरलाई मकहाँ ल्याउनुभयो । उत्साही भावमा उहाँले मसित दह्रो हात मिलाएको अहिले पनि सम्झिन्छु ।

उहाँ हुनुहुन्थ्यो डा. उपेन्द्र देवकोटा । भारतको आसाम मेडिकल कलेजबाट एमबीबीएस पास गरेर उहाँ सन् १९७८ मा नेपाल फर्किनुभएको रहेछ । त्यसपछि केही समय टिचिङ हस्पिटलमा लेक्चररका रुपमा काम गर्नुभएछ । अनि, लोकसेवा पास गरेर वीर हस्पिटलमा छिर्नुभएको रहेछ ।

‘डा. देवकोटाले मृत्युलाई साहसिक रुपमा स्वीकार्नुभएको छ’ dr

उहाँको दुईवटा कुराले मलाई सुरुमै आकर्षित गर्‍यो । एउटा व्यक्तित्व र अर्को ह्यान्डराइटिङ । प्राय डाक्टरहरु ह्यान्डराइटिङका लागि आलोचित हुन्छन् । धेरै फोहोर हुन्छ हाम्रो ह्यान्डराइटिङ । उहाँको भने सफा थियो । सबैले बुझ्ने खालको । मैले लामो समय उहाँलाई आफैंसँग राखेर काम गरेंँ ।

मसँग काम गर्न डाक्टरहरुलाई सजिलो थिएन । म अलि रुखो थिएँ । काममा कडिकडाउ गर्थें । डाक्टरहरु मसँग छेउ पर्नसमेत डराउँथे । तर, उहाँले भने कुनै असजिलो महसुस गर्नुभएन । उहाँलाई मैले कुनै कडाई गर्नै पर्दैनथ्यो । आफैं अनुशासित हुनुहुन्थ्यो । बिरामीलाई डिल गर्ने तरिका, हिस्ट्री राइटिङ एकदमै राम्रो थियो । आफ्नो पेशाप्रति पूर्णरुपमा समर्पित हुनुहुन्थ्यो । कहिल्यै काममा हेलचेक्र्याई गरेको थाहा छैन ।

अरु डिमापर्टमेन्टका अफिसरहरु बिहान आएर आफ्नो काम सकेर बेलुका घर जान्थे । मेरो डिपार्टमा त्यस्तो चल्दैनथ्यो । लामो ड्यूटी हुन्थ्यो । जति बेला पनि स्ट्यान्डबाई बस्नुपर्थ्यो । उहाँले कहिल्यै गाह्रो मान्नुभएन ।

यसरी बने न्यूरोसर्जन

‘डा. देवकोटाले मृत्युलाई साहसिक रुपमा स्वीकार्नुभएको छ’ dr

त्यति बेलासम्म हामीले हस्पिटलमा न्यूरो सर्जरी सुरु गर्न सकेका थिएनौं । तर, बिरामीको चाप बढ्दो थियो । नेपालमा अपरेसन नहुँदा महंगो रकम खर्चेर विदेश जानुपर्ने बाध्यता थियो । त्यसैले मैले चाँडोभन्दा चाँडो न्यूरो सर्जरी सुरु गर्ने योजना बनाएँ । तर, यसका लागि जनशक्ति हामीसँग थिएन । त्यसैले हस्पिटलकै एकजनालाई तालिम लिन विदेश पठाउने कुरा भयो । मैले डिपार्टमेन्टका डाक्टरहरुसँग कुरा राखें । तर कोही तयार भएन । बिरामी धेरै आउँदैनन्, प्राक्टिस चल्दैन भन्ने थियो । तर, अन्तिममा  डा. देवकोटा तयार हुनुभयो । म खुशी भएँ ।

१९८२ मा म बि्रटिश सरकारको निमन्त्रणामा दुई हप्ताको कार्यक्रमका लागि बेलायत गएँ । छोटो समयमै त्यहाँ आफ्नो सम्बन्ध बनाएँ । ‘ग्लासगो’ का प्रोफेसर डा. ग्राहम टिजडेललाई मैले भनें, ‘हामीलाई एउटा न्यूरोसर्जन चाहिएको छ । पढाउन हेल्प गर्नुपर्‍यो ।’

उनले स्वीकार गरे । त्यतिबेला विश्वमै एक नम्बर थियो ग्लासगो । अनुसन्धानका लागि एकदमै प्रख्यात ।

डा. टिजडेलले केही समयमै पत्र पठाउनुभयो । त्यसपछि बि्रटिश काउन्सिलसँग समन्वय गरेर सन् १९८३ मा हामीले डा. देवकोटालाई बेलायत पठायौं । तालिमका लागि ६ महिना ग्लासगोबाट सुरु गर्ने र त्यसलाई तीन वर्षको छात्रवृत्तिमा परिणत गर्ने भनिएको थियो ।

बेलायतमा पनि उहाँले आफ्नो दक्षता देखाउनुभयो । त्यहाँको सबैभन्दा ठूलो एफआरसीएस पास गर्नुभयो । यो एकदमै गाह्रो कोर्स हो । परीक्षार्थीमध्ये १५ देखि २० प्रतिशत मात्रै पास हुन्थे त्यतिबेला ।

यसरी न्यूरो सर्जरीमा दक्षता हासिल गरेर उहाँ १९८९ मा नेपाल फर्किनुभयो र वीर हस्पिटल फेरि ज्वाइन गर्नुभयो । त्यतिबेलासम्म हामी पुरानै ढर्रामा काम गरिरहेका थियौं । डा. देवकोटा आएपछि मलाई ठूलो रिलिफ भयो । काँधको बोझ हल्का भएजस्तो । न्यूरो सर्जरीलाई आधुनिकतातर्फ लगियो । सरकारले पनि नयाँ उपकरणहरु ल्याउन सघायो । दरबन्दी सिर्जना गर्‍यो । अनि छुट्टै न्यूरो सर्जरी डिपार्टमेन्ट स्थापना गरेर काम गर्न थालियो ।

मन्त्री हुँदा

‘डा. देवकोटाले मृत्युलाई साहसिक रुपमा स्वीकार्नुभएको छ’ dr

म वीर हस्पिटलबाट रिटायर्ड भइसकेको थिएँ । पेटको क्यान्सर भएर वीरमा नै भर्ना भएको थिएँ । एक दिन डा. देवकोटा प्रफुल्ल मुद्रामा आउनुभयो ।

‘म मन्त्री बन्ने भएँ,’ उहाँले भन्नुभयो । सुरुमा त मलाई जोक गरेको जस्तो लाग्यो । तर उहाँ सिरियस हुनुहुन्थ्यो ।

त्यसको केही समयपछि राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिनुभयो र नयाँ मन्त्रिमण्डल बनाउनुभयो । त्यसमा डा. देवकोटा स्वास्थ्य मन्त्री नियुक्त हुनुभयो । कसरी यो पद हासिल गर्नुभयो भन्ने चाहिँ मलाई थाहा भएन । त्यतिबेला म भारतमा क्यान्सरको अपरेसन गराएर घरमै आराम गर्दै थिएँ । मन्त्री भएलगत्तै उहाँ मेरो घरमा आउनुभयो । नेवारी चलनअनुसार मैले उहाँलाई सगुन खुवाएँ । उहाँले सल्लाह सुझाव माग्नुभयो ।

मन्त्री हुँदा पनि उहाँले आफ्नो चिकित्सकीय पेशा छोड्नुभएन । मन्त्रालयको काम सकेर बेलुका अस्पतालमा गएर नियमित अपरेसन गर्नुहुन्थ्यो । राति १-२ बजे मात्र घर फर्किनुहुन्थ्यो ।

‘अघिल्ला मन्त्रीले गरेका सबै काम नउल्टाउनू, पछि आउने मन्त्रीले उल्टाउन नसक्ने गरी काम गर्नुस्,’ मैले उहाँलाई यही टिप्स दिएँ । आफ्नो मन्त्री कालमा उहाँ बारम्बार मसँग छलफल गर्न आउनुहुन्थ्यो ।

उहाँकै कार्यकालमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान स्थापना भयो, २०५९ सालमा । हामीले पहिलेदेखि बेलायतको जस्तै इन्सटिच्युट बनाउनुपर्ने विषयमा छलफल गर्दै आएका थियौं । यो त्यही तयारीको प्रतिफल थियो । प्रतिष्ठानको पहिलो चेयरम्यान मलाई बनाइयो ।

मन्त्री हुँदा पनि उहाँले आफ्नो चिकित्सकीय पेशा छोड्नु भएन । मन्त्रालयको काम सकेर बेलुका अस्पतालमा गएर नियमित अपरेसन गर्नुहुन्थ्यो । राति १-२ बजे मात्र घर फर्किनुहुन्थ्यो ।

मन्त्रीबाट हटेपछि उहाँले बाँसबारीमा न्यूरो अस्पताल स्थापना गर्ने प्रक्रिया अगाडि बढाउनुभयो । मलाई नै त्यसको शिलान्यास गर्न लगाउनुभयो । अस्पताल उदघाटन चाहिँ तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गर्नुभएको थियो । अस्पतालमा मेरो नाममा एउटा विङ्स नै बनाउनुभएको छ । मेरो लागि यो ठूलो सम्मानको कुरा हो ।

के घमन्डी हुन् ?

‘डा. देवकोटाले मृत्युलाई साहसिक रुपमा स्वीकार्नुभएको छ’ dr

फाइल तस्वीर

डा. देवकोटाको स्वभावका विषयमा विभिन्न टिकाटिप्पणीहरु हुन्छन् । कतिपयले उहाँलाई घमन्डी, रिसाहा र सन्काहा पनि भन्छन् । यस्तो आरोप त मैले पनि खेप्दै आएको छु । उहाँमा पनि मेरै गुण सरेको हुन् कि जस्तो पनि लाग्छ ।

खासमा उहाँ एकदम कोमल हृदयको व्यक्ति हुनुहुन्छ । तर, परिस्थितिले हामीलाई कहिलेकाहीँ आक्रामक बनाउँछ । उहाँ आफ्नो पेशाको प्रतिष्ठामा आँच आउने कुरा सहन सक्नुहुन्न । मनमा लागेको कुरा भनिहाल्नु हुन्छ ।

बिरामी र कुरुवाले जब एउटै प्रश्न पटक-पटक सोध्छन्, त्यसले हामी इरिटेड हुन्छौं । एउटा व्यक्तिले सोधेको कुरा अर्कोले पनि दाहोर्‍याएर सोध्यो भने पनि रिस उठ्छ । त्यसैगरी बिरामीको वरिपरी धेरै व्यक्तिहरु झुम्मिनु, बिरामीकै लागि ठीक हुँदैन । त्यसमा हामी कडाइ गर्छौं । यिनै कुराहरुलाई लिएर उहाँमाथि आरोपहरु लाग्छन् ।

अलि भीआईपीहरुले उहाँलाई घमन्डी सोच्छन् । भीआइपी भन्नेबित्तिकै टाढैबाट नमस्कार गर्ने उहाँको स्वभाव छैन । अनावश्यक चाकडी गर्ने र ज्यूहजुर गर्ने बानी पनि छैन । त्यसैले उनीहरुको नजरमा उहाँ घमन्डी नै हुनुहोला । अन्यथा घमन्डी स्वभाव होइन उहाँको । हृदय एकदम सफा छ ।

क्यान्सरले समात्दा

पछिल्लो समय उहाँ राजनीतिकरुपमा पनि सक्रिय हुन खोजिरहनु भएको थियो । मैले पनि आशा राखेको थिएँ कि राजनीतिमा फर्केर उहाँ फेरि उच्च ओहदामा पुग्नुहोला । तर, कथाले अर्कै मोड लियो ।

चुनावका बेलामा गोरखामा गएर वामपन्थी गठवन्धनका पक्षमा भाषण गर्नुभयो । त्यसपछि फर्केर अपरेसन गर्ने क्रममा अलिकति थकान महसुस भएछ । त्यसपछि पहेंलो, बाक्लो पिसाब आएछ । अनि एमआरआई र अल्ट्रासाउन्ड गराउँदा रिपोर्ट देखेर तर्सिनुभएछ । त्यसपछि मलाई थाहा भयो । पित्त नली थिचिएर अब्स्ट्रक्टिभ जन्डिस भएको थियो ।

भीआईपी भन्नेबित्तिकै टाढैबाट निहुरिएर नमस्कार गर्ने उहाँको स्वभाव छैन । अनावश्यक चाकडी गर्ने र ज्यूहजुर गर्ने बानी पनि छैन । त्यसैले उनीहरुको नजरमा उहाँ घमन्डी नै हुनुहोला ।

भोलिपल्ट एक्सपर्टहरु बोलाएर छलफल गर्दा जटिल कलेजोको भेट्नामा मासु पलाएको देखियो । क्यान्सरको स्पष्ट संकेत थियो त्यो । नलीहरु ड्रेन गर्न नसके २/४ दिनमै घातक असर पार्न सक्ने अवस्था देखियो । त्यसपछि उहाँले बेलायत जाने निर्णय लिनुभयो ।

उहाँ सकेसम्म उपचारका लागि विदेश जानु राम्रो हुँदैन भन्ने मान्यताको व्यक्ति । तर, आफ्नै केसमा जानुपर्‍यो किनकी यो अत्यन्त जटिल थियो । नेपालमा उपचार हुने सम्भावना थिएन । बेलायतमा साथीहरु पनि भएको र त्यहाँ उपचार पनि राम्रो भएकाले जानुभएको हो । जानुअघि उहाँमा बिसेक हुने आशा थियो । हामीले पनि आशा राखेका थियौं । तर, ढुक्क हुने अवस्था भने थिएन ।

बेलायत गएपछि पित्तथैलीमा क्यान्सर भएको पुष्टि भयो । त्यसपछि किमो दिन थालियो । तर, त्यसले काम गरेन । सायद धेरै ढिला भइसकेको थियो । दुखाइ भएको भए चाँडै चेकअप हुन्थ्यो । तर यसमा दुखाइ थिएन । त्यसैले बेलामा थाहा भएन ।

बेलायतमा रहँदा म नियमित सम्पर्कमा थिएँ उहाँको । उहाँ आफ्नो अपडेटहरु सुनाउनुहुन्थ्यो । किमोका बाबजुद सिटिस्क्यानले ट्यूमर बढ्दै गएको देखायो । पाँच महिनासम्म कुनै सुधारको लक्षण देखिएन । अन्ततः उहाँले सम्पूर्ण आशाहरु परित्याग गरेर नेपालमै आफ्नो प्राण बिसाउने निर्णय लिनुभयो ।

स्वस्थ हुने आशा बोकेर जानुभएका डा. देवकोटा अन्ततः आशाविहीन भएर फर्किनुभयो र आफ्नै न्यूरो हस्पिटलमा भर्ना हुनुहुन्छ ।

अहिलेको स्वास्थ्य अवस्था

‘डा. देवकोटाले मृत्युलाई साहसिक रुपमा स्वीकार्नुभएको छ’ Dr Upendra Devkota 4

नेपालमा ल्याउनासाथ हल्ला भइहाल्यो । उहाँलाई भेट्न भिड लाग्न थाल्यो । भीआईपीहरु आउनुभयो । १०-१२ दिन अगाडिसम्म उहाँ भेट्न आउनेहरुसँग बोल्नुहुन्थ्यो । आफ्नोभन्दा पनि देशकै बारेमा बढी कुरा गर्न रुचाउनुहुन्थ्यो ।

तर अहिले दिनप्रतिदिन अवस्था बिगि्रँदै गएको छ । दुवै मिर्गौला फेल भएका छन् । राम्ररी बोल्न नसक्ने हुनुभएको छ । हामीसँग अलिअलि इशाराले कुरा गर्नुहुन्छ । उहाँको इच्छामा अस्ति शनिबार गोर्खा पुर्‍याएर ल्याइयो । त्यसपछि अनुहार अलि उज्यालो भएको थियो । अहिले पनि बेलाबेलामा गोर्खा नै जाने कुरा गर्नुहुन्छ । उहाँलाई आफ्नो जन्मस्थान औधी प्यारो छ ।

डा. देवकोटाले नजिकिँदै गरेको मृत्युलाई साहसिक रुपमा स्वीकार्नुभएको छ । मृत्युको त्रास कहिल्यै व्यक्त गर्नुुभएको छैन । उहाँको पत्नी र छोरीहरुले पनि आफूलाई सम्हाल्नुभएको छ । तीनवटै छोरीहरु विदेशमा हुनुहुन्थ्यो । उहाँलाई नेपाल ल्याइएपछि सबै जना यतै आउनुभयो । सबैजना दिनरात उहाँकै वरिपरि हुनुहुन्छ । अधिकतम माया र स्याहार दिनुभएको छ ।

उहाँ अहिले खानेकुरा निल्न सक्ने अवस्थामा पनि हुनुहुन्न । दुई-तीन अगाडिसम्म जुस पिउनुहुन्थ्यो । हिजो-आज पानीको भरमा हुनुहुन्छ । उहाँको अवस्थालाई मध्येनजर गरेर हेर्न आउनेहरुलाई रोक लगाइएको छ ।

डा. देवकोटा जस्तो सिद्धहस्त चिकित्सकसँग सहकार्य गर्न पाएकोमा म आफूलाई भाग्यमानी सम्झिने गर्छु । न्यूरोसर्जरीको त ‘डाइमन्ड’ नै हुनुहुन्छ उहाँ । अहिले ६३ वर्षको हुनुभयो । रोग नलागेको भए अझै १०-१५ वर्ष सेवा गर्न सक्नुहुन्थ्यो ।

प्रस्तिुतिः चिरञ्जीवी पौडेल