हिट सिनेमाको हिरो, जसलाई प्रेमी बनाएँ

0
51


नुहाइसकेर ड्रेसिङ टेबलअघि बसेर विस्तारै ब्राको फितालाई हातबाट पसाएँ । फितालाई केही कष्टसाथ भए पनि हातबाट छिराएँ ।

तर जति कोसिस गरे पनि हुप लगाउनै सकिनँ । त्यही बेला एक्कासी निगम ढोका खोलेर भित्र पस्यो । मलाई त्यो हालतमा देखेर ‘सरी’ भन्दै ऊ बाहिर निस्कन खोज्यो ।

“यहाँ आऊ,” मैले उसलाई बोलाएँ ।

“को ? म,” अनकनाउँदै उसले ढोकैतिर फर्किएर भन्यो ।

“तिमी भनेको को त ?”

“किन ?”

“ब्राको हुप लगाइदेऊ न, हातले भएन ।”

“कति पटक भनिसकेँ, हात यस्तो छ ननुहाऊ भनेर । भनेको मान्ने बानी छैन है,” ऊ केही रिसायो ।

“चुपचाप आएर ब्राको हुप लगाइदिन्छौ कि छिमेकी बोलाऊँ,” मेरो स्वर चर्कियो ।

“बाँदर्नी जे पनि बोल्छेस् है ।”

“आँखा बन्द गर है, नियत बिगि्रएला नि फेरि,” मैले उसलाई सजग बनाएँ ।

“बिग्रिए बिग्रिन्छ, के फरक पर्छ,” उसले आँखा बन्द गरेर हातलाई ब्राको हुपसम्म पुर्‍यायो ।

“के फरक पर्छ रे ?” म जङ्गिएँ ।

“हेर्छु नि एकपल्ट ।”

“के ?” म अलि आक्रोशयुक्त भएर प्रस्तुत भएँ ।

“ब्रामा तीन ओटा अप्सन रहेछन्, कुनमा लगाऊँ भनेर,” ऊ मुस्कुरायो ।

“सेकेन्ड” म पनि मुस्कुराएँ, उसको पारा देखेर ।

“अरु केही ?” हुप लगाइसकेर उसले सोध्यो ।

“पर्दैन जाऊ ।”

ऊ बाहिरियो । मैले विस्तारै अरु कपडा लगाएँ । कपडा फेरिसक्दा दुई कप बाफले भरिएको कफी लिएर निगम कोठामा प्रवेश गर्‍यो । कफीको चुस्की लिँदै भनें, “नाइस यार, मलाई राम्रैसँग पाल्छौ जस्तो छ ।”

“एक कप कफीबाट मेरो मायाको मूल्याङ्कन हुन्छ ?” उसले मेरा औंलालाई आˆनो हातमा राखेर खेलाउँदै भन्यो ।

“तिम्रो मायाको मूल्याङ्कन गरेको होइन, तिमीले बनाएको कफीको तारिफ गरेको ।”

“अब म जान्छु । केही छ जरुरी,” उसले डबिङमा जाने तयारी गर्दै भन्यो ।

“कपाल कोरिदेऊ । कति दिन भइसक्यो, नकोरिदिएको ।”

“हिजो कोरेको बिर्सियौ ?”

“हिजो रे, एक हप्ता भयो नकोरेको ।”

“चु…चु, मेरी बुढीको स्याहार म नभएको बेला छिमेकी आएर नै गर्छ कि क्या हो । बुढीलाई त मैले गरेको केही याद छैन,” उसले कपाल कोर्दै भन्यो ।

“बुढी रे ? ओ हेलो मिस्टर हिरो, म कसैकी बूढी होइन ।”

“कसैको भनेको छु र ? निगम उपाध्यायको भनेको । मञ्जुषा उपाध्याय ।”

“तिमी साह्रै फिल्मी छौ,” मैले असन्तुष्टि व्यक्त गर्दै भनें ।

“पेसा फिल्मी हो, जिन्दगी फिल्मी छैन । र, यो माया पनि फिल्मी होइन,” उसले निधारमा मायालु चुम्बन गरेर मलाई हेर्‍यो । मैले लामो सास तानेँ र भनेँ, “चार पटक टुटेको दिललाई जतनले सम्हाल है । अब त टुट्यो भने जोडिँदैन ।”

आँखाबाट बर्र आँसु खसे । उसले आँसु पुछेर न्यानो अँगालोमा बाँध्यो । “तिमीबाट छुटाएर मलाई कालले पनि लैजान सक्दैन, जाबो दिल टुट्ने कुरा गछ्र्याै ?” उसको कुराले हर्षका आँसु बगे, त्यसपछि उसकै छातीमा सुकसुकाएँ ।

साँझ निगम फर्किंदा म पुस्तक पढिरहेकी थिएँ । ऊ ढोकाबाट पस्दापस्दै मैले सोधें, “बाथरुमका कपडा किन धोएको ?”

“तिमीले सक्दिनौ, त्यही भएर,” मछेउ बस्दै उसले भन्यो ।

“पिरियड भएका कपडा थिए । तिमीले छुन नहुने, मलाई पाप लाग्ने भयो । मैले उदास भएर भनें ।

“तिमीले चाहिँ मेरा लागि यत्रो गर्दा मलाई पाप लाग्दैन । तिम्रा दुई जोर कपडा धुँदा कहाँ कसरी पाप लाग्छ ?” उसले प्रश्न तेस्र्यायो । म मौन भएँ ।

०००

पहिलो फिल्म रिलिज भएको १५ महिनापछि निगमको दोस्रो फिल्म आयो । चोकचोक, सडक सबैतिर पोस्टर/होडिङ बोर्ड लागे । यस पटक भने हप्ता दिनमै फिल्म उत्रिएन, एकाउन्न दिन चलिरहृयो ।

त्यसपछि निगम हिट फिल्मको हिट हिरो भयो । हिट सेलिब्रेटी । दर्शकहरुको भीडभाड, अटोग्राफ, अन्तर्वार्ता सबै चीज भयो । एकै पटक १७ ओटा फिल्मका अफर आए । कुन गर्ने ? कुन नगर्ने दोधारमा पर्‍यो ।

असफलतामा हृवाँहृवाँ रोएको निगमलाई यो सफलताले जीवनकै सबैभन्दा ठूलो खुसी दियो । १७ ओटा अफरमध्ये उसले छानेर सात फिल्म मात्र खेल्ने भयो । उसको सफलतामा ऊभन्दा बढी खुसी हुने अर्को मान्छे थिएँ, म । सफलताको पहिलो श्रेय पनि उसले मलाई नै दियो ।

फिल्म हिट भएसँगै उसको व्यस्तता बढ्यो । हाम्रो भेट त के, फोनमा कुरा गर्न पनि गाह्रो हुन थाल्यो । सुटिङका लागि ऊ धेरैजसो बाहिर नै हुन्थ्यो । व्यस्तताले होला, फोन गर्न कम गरेको थियो । मैले पनि उसको व्यस्तता बुझेर फोन कम गर्न थालेँ । कहिलेकाहीँ म राति फोन गर्थें ।

थाकेर पनि मन नलागीनलागी बोल्थ्यो । पहिले फोनमा म नबोल्दा रिसाउँथ्यो । अहिले मैले फोन गर्दा झर्किन थाल्ने भयो । लाग्यो, कामको चापले होला ऊ यसरी रिसाएको, झर्किएको । हुन त उसको स्वभावै रिसाउने, झर्किने र जिद्दी गर्ने हो ।

दिन प्रतिदिन निगमलाई गर्ने मेरो माया बढ्दै गयो । उसलाई देख्न, भेट्न र ऊसँग कुरा गर्ने छटपटी पनि तीव्र बन्दै गयो । कलेजमा पनि एक महिनाको जाडो बिदा भयो । ऊ सर्लाहीको सुटिङमा थियो । मैले उसलाई फोन गरेर आˆनो छटपटी सुनाएँ । उसले पनि दुई दिनपछि सुटिङ सकेर आउँछु भन्यो । खुसीले मेरो मन नाच्न थाल्यो यसैयसै । ऊ आउने दिनगन्ती सुरु भए ।

हात फ्याक्चर भएर ओछ्यानमा सुतिरहँदा कहिलेकाहीँ गोडा बाउँडिन्थे । म ऐया ! भनेर कराउँथे । मेरो आवाज सुन्नेबित्तिकै निगम आफ्नो कोठाबाट दौडिएर आउँथ्यो । र, मेरा गोडा थिच्न थाल्थ्यो । थिच्दाथिच्दै गोडामै निदाउँथ्यो ऊ । तर त्यो पल म भने पटक्कै निदाउन सकिनँ ।

रातभरि त्यो सुन्दर अनुहार हेर्थेँ । अगाध प्रेमले ओतप्रोत त्यो प्रेमीलाई छोएर सोच्थेँ- थाहा छैन, जीवनको कुन मोडमा मैले तिमीलाई भेट्टाएँ ।

कुन मोडमा गुमाउनेछु, जसको पीडा मलाई आजीवन भइरहनेछ… । स्त्री मनले एकपल संस्कार नै तोडेर सोच्यो, संसारमा यो एउटा त्यस्तो पुरूष हो, जसले मलाई हृदयबाटै साँचो प्रेम गर्छ । उसले पति भएर मलाई यति धेरै माया र स्याहार गरेको भए संसारमा सबैभन्दा भाग्यमानी पत्नी हुन्थें । प्रेमी भएर गरेको उसको प्रेमले मलाई संसारकै भाग्यमानी प्रेमिका बनायो ।

निगमले म पिरियड भएको बेला कपडा धोइदिँदा पाप लाग्छ भन्ने डर त थियो नै । तर कताकता पापको डरभन्दा खुसी र आनन्द पनि लाग्थ्यो ।

म त्यही आनन्दको सागरमा डुबिरहेँ । भोलि रहला-नरहला यो साथ, यो प्यार, यो समय । तर आज जे थियो, त्यो संसारमै सुन्दर, उत्कृष्ट र प्यारो थियो… । मेरा लागि उसले गरेको यो प्रेमभन्दा विशाल न आकाश थियो, न त्योभन्दा ठूला भगवान् नै । बितेका कुरा सम्झिएर ऊ आउने दिनको आयतन छोट्याउँदै थिएँ ।

तेस्रो दिन ऊ आयो । धेरै दिनपछि भएको भेटमा हामीले आआफ्ना मनका कुराहरु साटासाट गर्‍यौं । सँगै बार्दलीमा बस्यौं । कफी पियौं ।

एकअर्कालाई अघाउन्जेल हेर्‍यौं । नजरको तिर्खा मेट्यौं । उसले मलाई पहिलाकै जस्तो माया गर्‍यो । उत्तिकै ख्याल गर्‍यो । फोनमा ऊ बोल्न नचाहेको देख्दा परिवर्तन भयो कि भन्ने लागेको थियो । तर होइन रहेछ । म ढुक्क भएँ । केटी मान्छेको मन रबरजस्तै हुँदो रहेछ, जति तन्कायो तन्किने, नतन्काउँदा खुम्चिने ।

साँझ निगमले मलाई डिनरका लागि रेष्टुरेन्ट लग्यो । दुवै आज पहिलो पटक सँगै डिनरका लागि बाहिरियौं । रेस्टुराँ खचाखच रहेछ । रेस्टुराँ पस्दापस्दै स्टाफ र ग्राहकका दृष्टि निगम र ममाथि परे । निगम सबैभन्दा बढी चलेको हिरो थियो । उसका प्रशंसक अत्याधिक थिए ।

रेस्टुराँमा ‘हेलो निगम सर” भन्दै हात मिलाउन आउने धेरै भए । कोहीले टाढैबाट नमस्कार गरे । कोहीले ऊसँग फोटो खिचाए । उसले पनि विभिन्न पोजमा फोटो खिचाएर सबैलाई खुसी बनायो । म ऊछेउ उभिएर मुस्कुराइरहेकी थिएँ । फोटो सेसन सकिएपछि मेरो हात समाउँदै अघि बढ्यो निगम ।

ऊसँग फोटो खिच्दा दुई जना सुन्दर केटी निकै उत्ताउलिइरहेका थिए । निगमले मलाई यसरी सँगै लिएर हिँडेको देख्दा उनीहरुमा कताकता ईष्र्या लागेजस्तो देखियो । तर उनीहरुको इर्ष्यामा म भने मुस्कुराएँ । उनीहरु असहृय भएर अर्कोतर्फ फर्किए । के थाहा, उता फर्किएर मलाई सरापे या बेस्ट अफ लक भने । मैले केही ध्यान दिइनँ ।

हामीले त्यो दिन क्यान्डल लाइट डिनर गर्‍यौं । निगमको हात समाएर डिनर गर्दा जीवनमा पहिलो पटक यति धेरै खुसी भएँ । एकछिनअघि मेरो भाग्यको इर्ष्या गर्नेहरु एकाएक आँखामा आए । म भने खितखिताएँ ।

“के भयो ?,” निगमले सोध्यो ।

“मीठो सपना ।”

“के भनेकी ? नसुती सपना कहिँ देखिन्छ ?”

“साँचो सपना देख्न सुत्नुपर्दैन । झुटो सपना देख्न मात्र सुत्नुपर्छ ।”

“मैले तिम्रो साहित्यिक भाषा बुझनिँ,” उसले तुरुन्त प्रतिक्रिया जनायो । जबजब उसले मेरो कुरा बुझ्दैनथ्यो । ऊ यस्तै भन्थ्यो । म पनि भनिदिन्थेँ,

“हिरोको डायगल बुझ्दिनँ म पनि ।”

तर आज मैले उसलाई जवाफ फर्काइनँ । मदहोसी मुस्कान दिएँ, केवल । ऊ दङ्ग पर्‍यो । चारैतिरबाट आएको क्यान्डलको उज्यालोले टेबललाई रोमान्टिक बनाउँदै थियो । हामीचाहिँ किन रोमान्टिक नबन्ने ? उसले मलाई विस्तारै चुम्यो- ओठमा । गाला सुमसुम्यायो । हात समायो अनि खाना खाने अफर गर्‍यो । मैले उसको आग्रह स्वीकारेँ । उसले धन्यवादको झरी ममाथि बर्सायो । म निथु्रक्क भिजेँ । उसको प्रेममा म पानीपानी भएँ । हाम्रो डिनर अविस्मरणीय बन्यो ।

राति १० बजे मात्र हामी फर्कियौं, कोठामा । लामो समयपछि आजको दिन खुसियालीमा बित्यो । क्यान्डल लाइट डिनर । त्यसमाथि निगमको साथ । उसको मायादेखि सबै कुरा एक से एक पर्फेक्ट । मलाई यस्तै अनुभूति भयो । कसैप्रति केही गुनासो रहेन । म फुरुङ्ग परेँ । लाग्यो, यही हो बेला, मनका कुरा भन्ने, जुन धेरै महिनादेखि मनमा सँगालिराखेकी छु । निगमलाई भन्नु जरुरी थियो, तर उपयुक्त अवसर मिलेको थिएन । आज अवसर जुर्‍यो ।

ऊ मछेउ आई बस्यो । म मन्दमन्द मुस्काएँ ।

“कुटिल मुस्कानसहित के योजना बुनिरहेकी छौ ?,” उसले सोध्यो ।

“तिमीसँग बिहे गर्ने योजना बुनिरहेकी छु । विल यू म्यारी मी ?,” फिल्मी स्टाइलले मैले उसलाई बिहेको प्रस्ताव राखेँ ।

ऊ भने गम्भीर भयो ।

मैले थपेँ, “के भयो ? के मेरो कुरा राम्रो लागेन ?”

“ठीक छ । तर…” जवाफलाई सस्पेन्स थि्रलर बनाएर रोकियो ऊ । मलाई भने क्लाइमेक्समा पुग्न हतार थियो ।

फेरि सोधेँ, “मसँग बिहे गर्न तिमीलाई केही समस्या छ ?”

“छैन । तर…” फेरि ऊ रोकियो ।

“के तर कुरा स्पष्ट भन न ।” मैले उसको ‘तर’पछिको जवाफ खोजेँ ।

ऊ विस्तारै बोल्यो, “मैले यत्ति भन्न्ा खोेजेको हुँ । भर्खर चल्दै छु । अहिले बिहे गर्‍यो भने मेरो क्रेज घट्छ । एक वर्ष पर्ख न ।” उसको अनुरोध गर्‍यो ।

जवाफले आफूलाई थाम्न सकिनँ । आँसु बर्र झरे । उसकै अगाडि रोएँ । सम्झायो, “तिमीलाई थाहा छँदै छ, मैले कति दुःख गरेर यो लक्ष्यमा पुगेको हुँ । एक वर्षभित्र स्थापित नायक बन्छु । करिअर पनि सेभ हुन्छ अनि बिहे गरौंला । सफलताका दिन भर्खर सुरु भएका छन् । हेन्डसम हिरो भन्छन्, फ्यान फलोइङमा केटीहरुको सङ्ख्या कति छ, त्यो पनि तिमीलाई थाहा छ । यस्तो बेला मैले बिहे गरेँ भने मेरो क्रेज घट्छ । तिमी सब बुझ्छ्यौ । प्लिज आयल ! यति कुरा बुझदिेऊ । एक वर्ष कति नै समय हो र ?”

“एक वर्षपछि धोका त दिँदैनौं ?” नचाहँदा नचाहँदै सोधिहालेँ ।

“म तिमीबिना बाँच्न सक्दिनँ भन्ने थाहा छैन र आयल ?,” उसले आफ्नो जीवन मबाटै चल्नेजस्तो कुरा गर्‍यो ।

“सोच्न पनि कसरी सक्यौ, धोका दिने कुरा ?,” ऊ तात्तियो । म चुपचाप उभिएँ ।

“म तिमीलाई असाध्यै माया गर्छु,” उसले हात र निधारमा चुम्यो । ममाथि अपरिमेय माया देखायो । तर अहिले उसको मायामा किन किन खुसी हुन सकिनँ । आँसु रोकिएका थिएनन् । बाहिर निस्किएँ । मौसम पनि पानी बनेर रोइरहेको थियो । रुघाखोकीले ग्रस्त थिएँ । तैपनि पानीमा निकै बेर उभिएँ । निथ्रुक्क भिजेपछि जाडोले थर्थर काँप्दै भित्र छिरेँ ।

म भित्र पस्दा निगम आफ्नो कोठामा गइसकेको रहेछ । दुई ओटा सिरक ओढेर सुतेँ । आँखामा निद्रा आएन, आँसु मात्र बगिरहृयो । रातभर निदाउन सकिनँ । बिहानपख मात्र निदाइछु । थाहै भएन ।

(यसै साता सार्वजनिक भएको ‘मञ्जुषा’ उपन्यासबाट )