माथिल्लो तामाकोसीमा थपियो २४ अर्ब भार, लागत पुग्यो ६० अर्ब

0
39


फाइल फोटो

१८ जेठ, काठमाडौं । भूकम्प  र नाकाबन्दीसँगै ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा बहुप्रतिक्षित जलविद्युत आयोजना माथिल्लो तामाकोसीको लागत २४ अर्बले बढ्ने देखिएको छ ।

४५६ मेगावाट क्षमताको यो आयोजनाको लागत २०६६ सालमा ३५ अर्ब २९ करोड ४१ लाख अनुमान गरिएको थियो । तर, आगामी वैशाखमा निर्माण सम्पन्न हुँदा लागत ६० अर्ब हाराहारीमा पुग्ने देखिएको छ ।

भूकम्प र नाकाबन्दीका कारण निर्माणमा विलम्ब भयो । अहिले डलरको भाउ बढ्नुका साथै भारतीय कम्पनी टेक्सम्याकाले समयमा काम अघि नबढाउँदा आयोजनाको लागत थप बढ्ने अवस्था आएको हो ।

सुरुमा आर्थिक वर्ष २०७३/०७४ भित्रै आयोजना सम्पन्न  गर्ने लक्ष्य थियो । तर, २०७२ वैशाखको विनाशकारी भूकम्प र त्यही वर्ष असोजमा भारतले लगाएको नाकाबन्दीका कारण आयोजनाको काम प्रभावित भयो । त्यसपछि निर्माण सम्पन्न गर्ने नयाँ भाका तोकियो, २०७५ असार ।

तर, असार लाग्नै लाग्दा पनि काम सम्पन्न भएको छैन । अब २०७६ वैशाखमा उत्पादन थाल्ने लक्ष्य राखिएको छ ।

हालै मात्र आयोजनास्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखसम्म उत्पादन थाल्न निर्देशन दिएका छन् । तर, भारतीय कम्पनी टेक्सम्याकाले काम गराई हेर्ने हो भने वैशाखमा पनि निर्माण सक्न कठिन छ ।

आयोजना निर्माण सम्पन्न गर्ने मिति जति लम्बिदै गएको छ, लागत पनि त्यति नै थपिँदै गएको छ । हालै प्रकाशित तामाकोशी  हाइड्रोपावर लिमिटेडको दशौं वाषिर्क प्रतिवेदन अनुसार सन् २०१७ को डिसेम्बरसम्म आयोजनाको खर्च ४९ अर्ब २९ करोड ५४ लाख पुग्ने अनुमान छ ।

तर, यो ब्याज बिनाको लागत हो ।

आयोजना निर्माणका लागि विभिन्न संस्थाबाट ल्याएको ऋणको ब्याज १० अर्ब ३४ करोड ४५ लाख पुगेको छ । यो जोड्दा आयोजनाको लागत ५९ अर्ब ६३ करोड पुग्ने देखिएको छ ।

भूकम्पपछि सुरु भएको थियो विलम्ब

भूकम्पपछि आयोजनाको काम डेढ वर्षसम्म रोकिएको थियो ।

लागत बढ्नुको मूख्य कारण यो पनि हो । भूकम्पका कारण पहुँचमार्गहरु भत्किएपछि करिब तीन सय ६० मिटरको सुरुङ निर्माण गर्नुप‍र्‍यो । भूकम्पले बाँधबाट सुरुङभित्र पानी पठाउने इन्टेक १९ सेन्टिमिटर भासिएको थियो । ठेकेदारका आवासगृह पनि क्षतिग्रस्त भएका थिए ।

साथै यसबीचमा आयोजनाले डिजाइन पनि परिवर्तन ग‍र्‍यो । मुख्य सुरुङको अन्तिम खण्डमा पानीको भार थेग्न नसक्ने कमजोर चट्टान फेला परेपछि डिजाइन परिवर्तन गर्नु परेको थियो ।

‘निर्माण अवधि २ वर्ष लम्बिदा ब्याज, मूल्य समायोजन, विदेशी विनिमय दरमा भएका नोक्सानी र प्रशासनिक खर्च पनि बढेका छन्’ प्रतिवेदनमा भनिएको छ, ‘सुरुको लागत ५ अर्ब ४९ करोड अपुग भएकाले पुनरावलोकन समितिले -निर्माण अवधिको ब्याजबाहेक) लागत ४९ अर्ब २९ करोड पेश गरेको छ ।’

डलरको भाउ बढ्दा पनि बढ्यो खर्च

माथिल्लो तामाकोसीमा थपियो २४ अर्ब भार, लागत पुग्यो ६० अर्ब Tamakoshi

आयोजना निर्माणका लागि भएका सम्झौतामा केही भुक्तानी डलर र युरोमा गर्ने व्यवस्थाले पनि लागत बढाएको हो ।

२०६६ सालमा अमेरिकी डलरको भाउ ८० रुपैयाँ आंकलन गरिएको थियो । तर, अहिले १०८ भन्दा माथि पुगेको छ ।

माथिल्लो तामाकोसी आयोजना निर्माणका लागि चार वटा विदेशी कम्पनीले जिम्मा लिएका छन् ।

सिनो हाइड्रोले सुरुमा सिभिलको जिम्मा १३ अर्ब ३७ करोड १८ लाख रुपैयाँमा जिम्मा लिएको थियो । तर, अहिले यसको लागत २१ अर्ब ६९ करोड पुग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।  यसको भुक्तानी ६५  प्रतिशत अमेरिकी डलर र ३५ प्रतिशत नेपाली रुपैयाँमा गर्ने सम्झौता छ ।

त्यसैगरी हाइड्रो-मेकानिकल वक्र्सको जिम्मा लिएको टेक्सम्याका एण्ड इन्जिनियरिङसँग सुरुमा १ करोड ५ लाख ७४ हजार युरो र २९ करोड २१ लाख  नेपाली रुपैयाँमा ठेक्का दिइएको थियो । अहिले यसको लागत बढेर कुल २ अर्ब १८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

इलेक्ट्रो-मेकानिकलको जिम्मा एन्डि्रज हाइड्रोले लिएको छ । यो कम्पनीसँग आठ करोड ७२ लाख अमेरिकी डलर र ३३ करोड ४२ लाख नेपाली रुपैयाँमा सम्झौता भएको थियो । तर, अहिले लागत बढेर ७ अर्ब ११ करोड रुपैयाँ पुग्ने देखिएको छ ।

यस्तै प्रसारणलाइन तथा सबस्टेशन निर्माणको जिम्मा भारतको केइसी इन्टरनेसनलले लिएको छ । १ करोड ७९ लाख अमेरिकी डलर र ५३ करोड ४६ लाख रुपैयाँमा सम्झौता भएकोमा अहिले लागत बढेर २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

डलर र नेपालीमा रकम भुक्तानी गर्ने सम्झौता भएका कारण डलरको भाउ बढ्दा पनि आयोजनाको लागत बढेको हो ।

अहिले आयोजनामा १ सय ७४ जना कर्मचारी छन् । समयमै आयोजना  सम्पन्न नहुँदा प्रशासनिक खर्च पनि बढेको छ ।

यो आयोजना स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना हो । आयोजनामा कर्मचारी सञ्चयकोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोषको दुई अर्ब र राष्ट्रिय विमा संस्थानको दुई अर्ब लगानी छ । सरकारले ११ अर्ब आठ करोडसम्म लगानी गर्नेछ ।