दशैंसम्म पनि मेलम्ची काठमाडौं ल्याउन कठीन, ठेकेदारलाई सरकारले दियो चेतावनी

0
41


१८ जेठ, काठमाडौं । दशैंसम्म मेलम्ची खानेपानी काठमाडौं ल्याउन कठीन हुने देखिएको छ । मेलम्ची आयोजनाको ठेकेदार कम्पनीले सरकारको लक्ष्यअनुसार काम नगरेपछि दशैंअघि नै काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने सरकारी लक्ष्य प्रभावित हुने देखिएको हो ।

ठेकेदार कम्पनीका प्रतिनिधिले काम गर्न आफ्नो इटालीस्थित केन्द्रीय कार्यालयबाट पैसा नभएको बाहाना बनाएका छन् । जसले समयमै काम सक्न मुस्किल पर्ने देखिएको छ ।

सुरुङमार्गमा ब्रेक-थ्रु भए पनि सिमेन्ट लगाएर फिनिसिङ गर्ने काम बाँकी नै छ । हेडवर्क्सको काम पनि बाँकी नै छ । मेलम्चीलाई बाँध बनाएर थनेर टनेलमा हाल्ने संरचना बनाउन पनि बाँकी छ ।

यही अवस्थामा इटालियन ठेकेदार कम्पनी सिएमसी दि रेभेनाले विभिन्न समस्या देखाउँदै काम गर्न आनाकानी गरेपछि मेलम्ची आयोजनाको म्याद अझै पछि धकेलिने लगभग तय भएको हो ।

ठेकेदारको लापरवाही र बार्गेनिङले हद नाघेपछि शुक्रबार खानेपमानी मन्त्रालयले ठेकेदार कम्पनीलाई कारबाही चेतावनी दिएको छ ।

आयोजनामा तीव्र गतिमा काम नभएपछि खानेपानी मन्त्रालयले सुरुङ फिनिसिङको काम दु्रत गतिमा अघि बढाउन, हेडवर्क्सबाट सुरुङमा पानी पठाउने काम प्राथमिकताका साथ गर्न, सुरुङको कामको बारेमा सूचना प्रदान गर्न, सुरुङको भेन्टिलेसन निर्माण चाँडै पुरा गर्न र पानी सुरुङमा पठाउन गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएको छ ।

खानेपानी मन्त्रालयका सचिव कृष्णराम बिसीले कम्पनीले निर्धारित समयमै काम सक्ने भनेपनि काम भने त्यस्तो गतिमा नगरेको बताए । अब कम्पनीका मुख्यालयबाटै प्रतिनिधि बोलाएर छलफल गर्न लागिएको उनले जानकारी दिए ।

समस्या समाधान नभए कडा किसिमको कदम चाल्न पनि पछि नहट्ने बिसीले बताए । काममा आटटाल भइरहे आलटाल गरे ठेक्का रद्द समेत गर्न सक्ने सरकारको संकेत छ ।

अहिले मेलम्चीको सुरुङमा ढलानसहित फिनिसिङ (लाइनिङ)को काम भइरहेको छ । तर, यसको गति निकै सुस्त छ । अडिट टनेलहरु थुल्ले काम पनि बाँकी नै छ ।

कम्पनीले वैशाख साउनसम्मसुरुङ फिनिसिङको काम टुंग्याउने बताए पनि काम भने नगरेकाले आफूहरु आश्चर्यमा परेको सचिव बिसीले बताए । उनकाअनुसार महिना दिनमा ६ किलोमिटर सुरुङ फिनिसिङ भएमात्र लक्ष्य अनुसार काठमाडौंमा पानी आउन सक्छ । तर, अहिले महिनामा मुस्किकले १ किलोमिटर सुरुङको फिनिसिङ भइरहेको छ ।

ठेकेदार प्रतिनिधिले कम्पनीभित्र आन्तरिक विवाद भएको र अाफ्नो केन्द्रीय कार्यालयले असहयोग गरेको जवाफ दिएको जानकारी मन्त्रालयले दिएको छ । ठेकेदार कम्पनीले सम्झौताभन्दा करि १ अर्ब ६५ करोड बढी अतिरिक्त भुक्तानी सरकारसँग मागेको छ । विभिन्न कारण देखाएर ठेकेदारले अतिरिक्त भुक्तानी मागेको हो ।

जसमध्ये २८ करोड रूपैयाँ कम्पनीले पाइसकेको छ । हरू रकमको पनि भुक्तानी लिनका लागि दबाव बनाउन कम्पनीले मेलम्चीको काम सुस्त गतिमा गरेको अनुमान  छ।