हत्याबाट जोगाउन ‘नक्कली हत्या !’

0
56


युक्रेन । एक पत्रकार रुसी गुप्तचरबाट मारिएको खबर सबैतिर फैलिइसकेको थियो । विभत्स र गाडा रगत देखाउनका लागि सुँगुरको रगत प्रयोग गरिएको थियो । गोली पसेको जस्तो देखाउन टिसर्टमा सानो प्वालहरु पारिएको थियो । गोली लागेको मान्छे कसरी मर्छ, लास कस्तो हुन्छ भनेर लामो समय अभ्यास गरियो ।

यो सबै गरेर उनीहरुले एक नाटकीय हत्यालाई बडो वास्तविक बनाए । त्यो थियो, अर्काडी बाबचेन्कोको नाटकीय हत्या । वास्तविक देखाउन उनी अस्पतालमा शव राख्ने बाक्सामा समेत घटौँ बसे ।

रुसी राष्ट्रपतिविरुद्ध समाचार लेख्दै आएका पत्रकार बाबचेन्को रुसी गुप्तचरहरुबाट मारिने खतरा भएको थियो । उनलाई साँच्चिकै मारिनबाट बचाउन युक्रेनको सुरक्षा फौजले नक्कली हत्याको उत्कृष्ट नाटक गरे ।

युक्रेनी प्रहरीले मंगलबार राति बाबचेन्कोमाथि उनकै अपार्टमेन्टमा गोली प्रहार गरी हत्या भएको बताएको थियो ।

मानिसहरु एक पत्रकारको विभत्स हत्याले दुःखी थिए । समवेदनाका शब्दहरुले मृत आत्माको शान्तीको कामना भइरहेको थियो ।

विभत्स हत्या एउटा निर्देशित नाटकीय हत्यामा तब परिणत भयो जब हत्याबारे गरिएको पत्रकार सम्मेलनमा मृत भनिएका बाबचेन्को उपस्थित भए ।

हत्या भएको भनिएको भोलिपल्ट उनी आˆनै हत्याबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा टुप्लुक्क देखा परे ।
सुरक्षा अधिकारीहरुले यो उनलाई मारिनबाट जोगाउन गरिएको एक चलाख जुक्ति भएको बताए । उनको वास्तविक हत्याको योजना बनाउनेहरु पक्राउ परेको जानकारी दिए ।

तर, आफ्नै हत्याको त्यो सफल नाटक किन गरिएको थियो भन्ने अन्योलमा बाबचेन्को स्वयम थिए ।

उनले सुरक्षा निकायहरुले यस्तो अचम्मको उपाय किन निकाले भन्ने भ्रममा आफू परेको बताए । ‘उनीहरुको आफ्नै कारणहरु थिए होला । सायद, उनीहरुले त्यस्तो प्रमाण संकलन गर्न चाहेका थिए, जुन सतप्रतिशत सही थियो’ उनले भने ।

एक परिचित रुसी युद्ध पत्रकार र क्रेमलिनको कडा आलोचक ४१ वर्षीय बाबचेन्को सन् २०१७ मा हत्याको धम्कीपछि रुसबाट भागेर युक्रेन आएका थिए ।

युक्रेनी एजेन्टहरुले उनलाई एक महिनाअघि भेटेर रुसी सुरक्षा निकायहरुले हत्या गराउने जाल रचेको बताएका थिए । ‘मैले भनें, तपाईहरुले किन एक महिनासम्म कुरिरहनुभएको त ?’ उनले सम्झिए ।

बाबचेन्कोका अनुसार नाटकीय हत्यालाई वास्तविक जस्तै देखाउनको लागि सुरक्षा अधिकारीहरुले उनको टिर्सट लिए र त्यसमा गोलीको लागेको प्वालहरु बनाए । त्यसपछि उनले त्यो टिर्सट लगाए । त्यसमा सुँगुरको रगत दले । ‘मैले मुखभरी सँुगरको रगत लिएँ र त्यो मुखबाट ओकलेँ’ उनले भने ।

एक अधिकारीले उनलाई कसरी गोली लागेजस्तो गरेर ढल्ने भनेर पनि सिकाए ।

उनलाई गोली लागेर ढलेको देखेपछि उनकी श्रीमतीले एम्बुलेन्स बोलाइन् । हस्पिटलको इन्टेन्सिभ केयर युनिटमा उनलाई पठाइयो । जहाँ फरेन्सिक विज्ञले उनको मृत्यु भएको घोषणा गरे ।

त्यसपछि उनलाई अस्पतालमा शव राख्ने बाकसमा राखियो । उनकै भाषामा ‘त्यो नर्कभन्दा पनि चिसो ठाउँ’मा बस्न उनलाई सजिलो थिएन ।

शव राख्ने बाक्साभित्रै बाबचेन्को पुनर्जिवित भए । रगत लागेको कपडाहरु निकाले । ‘म त्यहाँ आˆनै मृत्युको समाचारहरु हेर्दै बसेँ र म कति महान मान्छे रहेछु भन्ने थाहा पाएँ’ उनले भने ।

आफूले नजिकका एक आफन्तलाई त्यस्तो स्टिङ अपरेसनबारे पहिले नै बताएको सुनाए । यद्यपि बुधबार उनले श्रीमतीसँग माफी माग्दै भनेका थिए, ‘बितेको दुई दिनदेखि तिमीले नर्कजस्तो दुःख भोग्न परेको छ ।’

रुसी विदेश मन्त्रालयले युक्रेनी सरकारको कार्यको निन्दा गर्दै यसले रुस विरोधी डर सिर्जना गर्न खोजेको बताएको छ ।

दुई देशबीचको सम्बन्ध सन् २०१४ देखि तिक्ततापूर्ण रहेको छ । त्यो बेला रुसले क्रिमियामा कब्जा गरेको थियो ।

पृथकतावादीले मस्कोको समर्थनमा पूर्वी युक्रेनमा सरकारी सेनासँग लड्दा १० हजार भन्दा बढीको मृत्यु भएको थियो ।

बाबचेन्कोको नक्कली हत्याले युक्रेनमा धेरै ठूलो हलचल ल्यायो । जहाँ केही वर्षयता अन्य धेरै पत्रकारहरुको हत्या भएको छ ।
यसको प्रेस स्वतन्त्रताका पक्षमा बोल्ने समूहहरुबाट व्यापक आलोचना पनि भयो । युक्रेनी पत्रकार युनियनका प्रमुख सर्जिइ ट्रोमिलेन्कोका अनुसार उक्त हत्याकाण्ड वास्तवमै भएको हो भन्ने तथ्य र त्यसमा रसियाको संलग्नताको कुनै पनि प्रमाण अधिकारीहरुले पेश गरेका थिएनन् । यसैले त्यो हत्याको नाटक उनीहरुले नराम्रो काम भएको बताएका छन् ।

उनले भने, ‘प्रमाणहरु बिना उक्त कार्य राजनीतिक रुपमा प्रेरित भएको जस्तो लाग्न सक्छ । जसले पत्रकारहरुको मात्रै होइन, पुरै युक्रेनको छविलाई धमिल्याउन सक्छ ।’

रिपोटर्स विथआउट बोडर्सका पाउलिन एडेस मेभेलले भने, ‘हामी पत्रकारको रक्षाको लागि भन्दै गरिने यस्तो कार्यको निन्दा गर्छौं ।’

तर, युक्रेनका आन्तरिक मन्त्री आर्सेन एभाकोभले भने आलोचनाको प्रतिवाद गरेका छन् । ‘तपाई के चाहुनुहन्छ ? बाबचेन्कोको मृत्यु भएको हेर्न चाहनुहुन्छ ?’ उनले भने ।

बाबचेन्कोले अहिले सुरक्षित स्थानमा बसेको र तनावबाट मुक्ति पाउने योजना रहेको बताए । ‘मैले राम्रोसँग सुत्ने योजना बनाएको छु । दुई दिनसम्म केही पिएर अरु कुरा नसोची आनन्दले सुत्न चाहन्छु’ उनले भने ।

बाबचेन्कोको हत्याको लागि रुसी सुरक्षा निकायले एक व्यक्तिलाई चालिस हजार डलरको सुपारी दिएको युक्रेनको दाबी छ । त्यसमा संलग्न भएको आरोपमा एक युक्रेनी नागरिकलाई पक्राउ गरिएको युक्रेनी सुरक्षा निकायका प्रमुख बेसिल गि्रटास्कले बताएको छ ।

आरोपी बोरिस जर्मनलाई बिहीबार राति दोषी ठहर्‍याई दुई महिनाको लागि हिरासतमा राख्न आदेश दिइएको छ ।

अदालतमा पेश हुँदा आरोपितले रुसमा बस्ने एक साथीले युक्रेन अस्तव्यस्त बनाउने योजना बनाएको र आफूलाई त्यस्तो काम गर्न उक्साएको बताए ।

अभियोजनकर्ता जनरल युरिइ लुत्सेन्कोले भने, ‘बाबचेन्कोलाई मार्न सम्पर्क गरेको मानिसले अधिकारीहरुलाई यसबारे जानकारी दिएका थिए ।’