किन सुस्ताउँदैछ स्मार्टफोन बजार ?

0
47


द इन्टरनेसनल डाटा कर्पोरेसन (आइडिसी) का अनुसार यस वर्ष सन् २०१८ मा विश्व स्मार्टफोन बजार सुस्ताउनेछ ।

सन् २०१७ मा ० दशमलब ३ प्रतिशतले गिरावट आएको विश्वको स्मार्टफोन बजार यो वर्ष अझै तल झर्नेछ । आइडिसीले सार्वजनिक गरेको मोबाइल फोन ट्रयाकर शीर्षकको पछिल्लो त्रैमासिक रिपोर्ट अनुसार यस वर्ष सन् २०१८ मा विश्व बजारमा स्मार्टफोनको बिक्री ० दशमलब २ प्रतिशतले गिरावट आउनेछ । विश्व बजारमा यस वर्ष १ अर्ब ४६ करोड २० लाख गोटा स्मार्टफोन बिक्री हुने अनुमान गरिएको छ ।

स्मरण रहोस् सन् २०१६ मा १ अर्ब ४६करोड ९० लाख गोटा स्मार्टफोन बिक्री भएकोमा गत वर्ष सन् २०१७ मा १ अर्ब ४६ करोड ५० लाख स्मार्टफोन बिक्री भएका थिए ।

सन् २०१९ देखि तीव्र वृद्धि

पछिल्लो तीन वर्ष लगातार घटिरहेको विश्व स्मार्टफोन बजार आगामी वर्ष सन् २०१९ देखि भने तीव्र रुपमा उकालो लाग्ने आइडिसीको रिपोर्टले उल्लेख गरेको छ । रिपोर्ट अनुसार सन् २०१९ देखि विश्व बजारमा स्मार्टफोनको बिक्री वार्षिक ३ प्रतिशतले बढ्नेछ । जस अनुसार सन् २०२२ मा विश्व बजारमा वार्षिक स्मार्टफोन बिक्री १ अर्ब ६५ करोड ४० लाख पुग्ने बताइएको छ । सन् २०१९ पछिको पाँच वर्ष विश्व स्मार्टफोन बजारमा समग्रमा साढे २ प्रतिशतले बढोत्तरी हुने आइडिसीको प्रक्षेपण छ ।

गत वर्ष विश्व स्मार्टफोन बजारमा आएको गिरावटको मुख्य कारण चिनिया स्मार्टफोनको बजार घट्नु रहेको छ । सन् २०१७ मा चिनियाँ स्मार्टफोन बजार ४.९ प्रतिशतले घटेको थियो । यो वर्ष स्मार्टफोन उद्योगका लागि चिनियाँ बजार झनै खराब वर्ष हुनेछ र चिनियाँ बजारमा स्मार्टफोनको बिक्री ७.१ प्रतिशतले घट्नेछ ।

चिनियाँ बजारमा गिरावट आएको बेला एसिया तथा प्रशान्त क्षेत्रको स्मार्टफोन बजार भने तीव्र गतिमा बढिरहेको छ । एसिया प्रशान्त क्षेत्रमध्ये भारतको स्मार्टफोन बजार यो वर्ष १४ प्रतिशत र सन् २०१९ मा १६प्रतिशतले बढ्ने बताइएको छ । चिनियाँ स्मार्टफोन कम्पनीहरुले पछिल्लो समयमा आफ्ना सस्तो मूल्यका स्मार्टफोनहरु भारतीय बजारमा बिक्री बढाउने रणनीति अपनाएका कारण यस्तो भएको बताइएको छ । अहिले धेरै चिनियाँ स्मार्टफोन उद्योगहरुले पाटपुर्जा चीनबाट लगेर भारतभित्रकै स्थानीय कारखानामा आफ्ना स्मार्टफोनहरु एसेम्बल गर्ने गरेका छन् र यसले चिनियाँ कम्पनीहरु भारतीय भन्सार कानूनबाट बच्न सफल भएका छन् ।

भारतीय बजारसँगै मध्यपूर्व, अफ्रिका तथा ल्याटिन अमेरिकाको स्मार्टफोन बजारमा पनि वृद्धि हुने प्रक्षेपण आइडिसीको छ ।

सन् २०१९ पछि विश्व स्मार्टफोन बजारमा बढोत्तरी हुनुमा फाइभ जी स्मार्टफोनको मुख्य हात हुने भविष्यवाणी आइडिसीको छ । वर्ष सन् २०१९ को मध्यतिर विश्व बजारमा फाइभ जी स्मार्टफोन आउने र यसले २०२० सम्ममा विश्व स्मार्टफोन बजारको ७ प्रतिशत हिस्सा ओगट्ने अनुमान गरिएको छ । सन् २०२२ सम्म विश्व स्मार्टफोन बजारमा फाइभ जी स्मार्टफोनको हिस्सा १८ प्रतिशत हुनेछ ।

एजेन्सीको सहयोगमा